शसस्त्र प्रहरीद्धारा ९ लाखको कपडा बरामद

हरि शर्मा
परासी, २६ चैत ः भारतबाट भन्सार छलेर पश्चिम नवलपरासी भित्राउन राखिएको ९ लाख बढी मूल्य पर्ने कपडालाई शसस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।
भारतबाट भन्सार चोरी गरी ल्याइएका कपडा लुकाएर राखेको सूचना पाएर भन्सार कार्यालयका कर्मचारीसहित गएको हरपुर बेस क्याम्पको शसस्त्र प्रहरीको टोलीले ९ लाख ३१ हजार मूल्य पर्ने कपडा बरामद गरेको कपडा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सूचना अधिकारी डिसपी माधव रेग्मीले जानकारी दिए ।
पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको हो ।
बरामद भएका कपडामा १८ सय ६२ पिस लेडिज सुट रहेको डिएसपी रेग्मीले जानकारी दिए । बरामद कपडालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।
पछिल्लो पटक सीमा नाकाबाट नवलपरासीतर्फ कपडा तस्करी हुन थालेपछि शसस्त्र प्रहरीले गस्ती बढाएको छ । तर कारोबारमा संलग्न व्यक्तिहरुले भने रातको समय र दिउँसै पनि साइकल र मोटरसाइकलबाट एकान्त बाटोको प्रयोग गरी कपडाको तस्करी गर्ने गरेका छन् ।
त्यसरी चोरी गरी ल्याइएका कपडालाई परासीहुँदै बुटवल, चितवन, पोखरा, काठमाण्डौंलगायतका बजारमा पु¥याउने गरिएको बताइएको छ ।