हतियार बुझाउन सर्वसाधारणले दिएनन् चासो

हरि शर्मा
परासी, २४ चैत ः जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हतियार बुझाउन निकालेको सूचना कार्यान्वयन गर्न चासो दिएको पाइएको छैन ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सर्वसाधारणले राखेका हतियार बुझाउन सूचना प्रकाशन गरेर अनुरोध गरेको छ ।
तर अहिलेसम्म भने हतियार बुझाउन धेरैले अटेरी गर्दै चासो देखाएका छैनन् । हतियारको खोजी गर्दै छिटो बुझाउनका लागि प्रशासनले सर्वसाधारणलाई ताकेतासमेत गरेको पाइएको छैन । जसका कारण सूचनालाई मात्र आधार मानेर हतियार बुझाउन कसैले चासो नदेखाएका हुन् । यसले निर्वाचनको समयमा हतियारको दुरुपयोग हुने संभावना पनि नबढ्ला भन्न सकिदैन ।
चैत ११ गते प्रहरी कार्यालयमा हतियार बुझाउन प्रशासनले सूचना निकालेको हो । हतियार बुझाउने म्याद चैत मसान्तसम्म दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर हतियार राख्नेको संख्या ३ सय ४६ रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
धेरै संख्यामा हतियार राखेको पाइएपनि बिहीबारसम्म जम्मा ५ जनाले मात्र बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेम शाहीले जानकारी दिए ।
बुझाइएकामा १२ बोरका राइफल हुन् । इजाजत दिएकामध्ये १ सय ११ नवीकरण छैनन् । हतियारको अवस्थाका बारेमा पनि प्रशासन बेखबर जस्तै छ।
सम्बन्धित प्रहरी कार्यालयमा सूचना टाँस गर्ने र कार्यालयको फेसबुक पेजमा मात्र सूचनालाई केन्द्रित गर्दा आमसर्वसाधारणले त्यसको जानकारी पाउन नसकेको बताइएको छ ।
सूचनालाई व्यापक बनाउन नसक्दा पनि सोँचे अनुसारका हतियार संकलन हुन नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । ‘अझ पनि केही दिन बाँकी छ । सर्वसाधारणले सूचना नपाएर पनि हुन सक्छ । त्यसलाई व्यापक बनाउँछौ । ’प्रजिअ पोखरेलले भने ।
जिल्लामा विगतमा सम्पन्न भएका निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोले यो चुनाव पनि शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको पोखरेलको भनाई छ । हतियारको दुरुपयोग हुन सक्ने अवस्थालाई पनि गंभिरताका साथ लिएर सकंलन गरिने प्रजिअ पोखरेलले बताए ।
सबैभन्दा बढी भारतीय सीमावर्ती गाउँका सर्वसाधारणले हतियार राखेका छन् ।
हतियार राख्नेमा नेतादेखि गाउँमा बस्ने सामान्य व्यक्तिले समेत रहेको पाइएको छ । कानुनले तोकेको समयभित्र नवीकरण नगराए स्वत ः अवैधजस्तै हुने भएकाले नवीकरण गराउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत आत्मरक्षाका लागि अनुमति दिएर हतियार राख्न दिने गरेको छ । इजाजत लिएर हतियार राख्ने व्यक्तिहरुसँग १२ बोरका राईफलबढी छन् । त्यसैगरी ब्रिजलोड, १२ बोर, कटुवा, भरुवा बन्दुक, टोटालगायतकका छन् ।