मध्यविन्दु नगरपालिकामा एमालेबाट यस्ता नगरप्रमुखका आकांक्षी

नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नवलपुरमा राजनीतिक दलहरुबीच सरगर्मी बढेको छ ।
गाउँघरमा निर्वाचनको माहौल छाइ नसकेको भए पनि दलहरु भने अहिले उमेदवार छान्न व्यस्त छन् । सत्तारुढ दल गठबन्धन देखि प्रतिपक्षमा रहेका नेकपा एमाले र अन्य साना दलहरु पनि अहिले आफ्ना उमेदवार छान्न व्यस्त छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिकामा पनि अहिले त्यस्तै चाप छ । यस अघि नेपाली काँग्रेसले निर्वाचन जितेको मध्यविन्दु नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुखमा ४ जना भन्दा बढी आकांक्षी देखिएका छन् ।
अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पराजित नेकपा एमालेका भीमलाल अधिकारीले यस पटक काँग्रेसलाई हारको स्वाद चखाउन पुन नगर प्रमुखमा दावी गरेका छन् ।
त्यसैगरी हरिकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अमृत ज्ञवालीले पनि नगर प्रमुखमा आफ्नो दावेदारी प्रस्तुत गर्ने तयारी छन् ।
हरि कुमार श्रेष्ठ नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष हुन् । अमृत ज्ञवाली मध्यविन्दु ७ का वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पार्टी संघिय निर्वाचन क्षेत्र नं। २ का संयोजक पनि हुन् । भीमलाल अधिकारी नेकपा एमाले नवलुरका सचिव हुन् भने उनी चोरमाराको दर्पण एफएमका अध्यक्ष र नवलपुर आवासीय माविका प्रिन्सिपल हुन् । बाबुराम पाण्डे नेकपा एमाले मध्यविन्दु नगर इन्चार्ज हुन् ।
मध्यविन्दुमा नगरप्रमुखमा काँग्रेसबाट चन्द्रबहादुर राना र उपप्रमुखमा काँग्रेसबाटै ओमकुमारी महतो विजयी भएका थिए ।
यसैबीच नेकपा एमालेले मध्यविन्दु नगरपालिकामा बैशाख २ गते नगरप्रमुख र उपप्रमुखका आकांक्षीहरुको नामावली संकलन गर्ने तयारी गरेको छ । मध्यविन्दुमा नगर प्रमुख र उपप्रमुखमा १ दर्जन बढी आकांक्षीहरुको नाम आउने सम्भावना रहेको छ ।
नेकपा एमालेले नवलपुरमा अहिले सम्म कावासोती, देवचुली नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको आकांक्षीहरुको नामावली संकलन गरिसकेको छ भने बौदीकाली गाउँपालिकामा सर्वसम्मत उमेदवार तय गरिसकेको छ ।