चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा

चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् ।
बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।
कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।
भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ ।