उमेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडेर माअाेवादीमा प्रवेश

हरि शर्मा (
परासी, ९ बैशाख ः पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि सिफारिस नगरेपछि माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
कांग्रेसले उपाध्यक्ष पदको उमेदवारमा २ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टी जनाएकी थिइन् ।
‘अध्यक्षको उमेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ ।’नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष हरिहर चौहानले भने । जिल्लाका २ पालिकामा मात्र गठबन्धन पार्टी मिलेर जानेबारे छलफल भएको छ । तर त्यहाँ पनि सहमति जुटेको छैन । पाल्हीनन्दनसहित अन्य पालिकामा भने गठबन्धनदलहरु छुट्टाछुट्टै जाने गरी उमेदवार चयन गरिरहेका छन् ।
उक्त गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले जितेको हो । माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोँहारले कांग्रेस छाडेको बताइएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोहाँरलाई माओवादीका नेताहरुले पार्टी प्रवेश गराएका छन् । ‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन । पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गइकी हुँ ।’ उपाध्यक्ष कोहाँरले बताइन् ।