टिकटको विषयमा काँग्रेसमा लफडा


 



वैशाख ३० गते हुने निर्वाचनमा वितरण गरिने टिकटको विषयलाई लिएर नुवाकोटको शिवपुरी गाउँपालिकामा काँग्रेसभित्र विवाद  देखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले सो गाउँपालिकामा विजय हासिल गरेको थियो ।

 

अहिले त्यतिबेला विजयी भएका रामकृष्ण थापालाई नै दोहोर्याउन खोजेपछि अध्यक्ष पदका अर्का आकांक्षी गोविन्द प्रसाद थपलिया लगायतले विरोध गरेका हुन् ।

 

 




गाउँपालिकाको अध्यक्ष पदका लागि थापा र थपलियासँगै कविराज गुरुङ, मञ्जु केसी, विजय केसी, माधव भेटवाल, रमेशकुमार पाठक, झमकराज गुरुङ, रालबहादुर तामाङ, अप्सरा थापालगायत सिफारिस भएका थिए ।

 

 

तर, अन्तिम समयमा रामकृष्ण थापालाई नै दोहोर्याउन खोजिएपछि असन्तुष्टि बढेको हो । थापालाई उम्मेदवार बनाउन नहुने भन्दै पूर्व क्षेत्रीय सभापति यमबहादुर थापा, महाधिवेशन प्रतिनिधि विजय केसी,गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसी,वडा नम्बर २ का सभापति दिलीप गुरुङ, वडा नम्बर ३ का सभापति अर्जुन रायमाझी, वडा नम्बर १ का सभापति रविन गुरुङ, वडा नम्बर ६ का अध्यक्ष माधव भेटवाल, क्षेत्रीय प्रतिनिधिहरू भीमसेन खड्का, साधुराम केसी,  बागमती प्रदेश कमिटी सदस्य मणिराम केसी लगायतले रामकृष्ण थापालाई दोहोर्याउन नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।

 

 

आकांक्षी मध्येका गोविन्दप्रसाद थपलियाले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । उनले अघिल्लो निर्वाचनमा पनि आफू दाबेदार रहेर छाडेको भन्दै यो पटक टिकट पाउनुपर्ने बताए ।

 

शिवपुरी गाउँपालिकामा सत्ता गठबन्धनबीच तालमेलमा सहमति नभएपछि काँग्रेसले उम्मेदवार टुंग्याउन लागेपनि विवाद भएको हो ।

 

 

गाउँपालिका अध्यक्ष हुँदा विवादमा समेत तानिएकाले रामकृष्ण थापालाई उम्मेदवार बनाउन नहुने पक्षमा आफू पनि रहेको नेपाली काँग्रेस शिवपुरी गाउँ कमिटीका एक नेताले जानकारी दिए ।



सम्बन्धित
Loading...