नवलपरासीमा ११ सय ४७ जनाको उमेदवारी




हरि शर्मा –
परासी, १२ बैशाख ः पश्चिम नवलपरासीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ११ सय ४७ जनाले उमेदवारी दर्ता गराएका छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । सबैभन्दा बढी उमेदवारी दर्ता गराउनेमा सुनवल नगरपालिकामा २ सय ८५ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दर्ताका आधारमा सबैभन्दा कम उमेदवारी दिनेमा बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकामा ८३÷८३ जना छन् । त्यसैगरी पाल्हीनन्दन गाउँपालिकामा २ सय ४५, रामग्राम नगरपालिकामा २ सय ५०, सुस्ता गाउँपालिकामा १ सय १७ र सरावल गाउँपालिकामा ८४ जनाले उमेदवारी दर्ता गराएका छन् ।




निर्वाचनमा सहभागी हुनका लागि जिल्लामा २७ दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आ–आफ्नै अनुकुलमा गठबन्धन

पश्चिम नवलपरासीमा सत्तागठबन्धन बाहेक एमालेले पनि गठबन्धन गरेर उमेदवारी दिएको छ । सत्तागठबन्धनका घटकका सबै दल एकजुट हुन सकेनन् । सबै घटक मिले भागबण्डा नपुग्ने भएपछि उनीहरुले दलअनुसार अनुकुल मिलेर तालमेल गरेका हुन । नेपाली कांग्रेस र माओवादी केन्द्रले सुनवल र बर्दघाट नगरपालिकामा गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

सुनवल नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा भागबण्डा गरेका छन् । त्यस्तै बर्दघाट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्दलाई उपमेयर दिइएको छ । १३ वटा वडा रहेको सुनवल र १६ वटा रहेको बर्दघाटमा ३÷३ वटा वडाका अध्यक्ष लिएर माओवादी केन्द्रले चित्त बुझाएको छ । गठबन्धनले बर्दघाटमा मात्र नेकपा एस (एकीकृत समाजवादी) लाई १ वडा अध्यक्ष र १४ सदस्य दिएको कांग्रेस जिल्ला सचिव कुलदिप आचार्यले बताए ।

गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ ।

प्रतिपक्ष दल एमालेले भने बर्दघाट नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर उमेदवारी दर्ता गराएको छ । त्यहाँ एमालेलाई मेयर र जनमुक्तिलाई उपमेयर दिइएको छ ।



सम्बन्धित
Loading...