बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन् ।
उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ ।
अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।”
उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ।
विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको आयोगले जनाएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ ।
उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ ।