चुनावले नछोएको नवलपुरको ‘मुसहर बस्ती’


 



यामु कुमाल

नवलपुर।  के गाँउ के शहर सबै यतिवेला स्थानीय तहको चुनावको चटारोमा छन् । त्यसमा पनि पालिकाको विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुलाई अव कसले जित्ने हो रु कसरी आफ्ना जितिन्छ । आफ्ना तिर भोट अब कसरी ल्याउन सकिन्छ रु भनेर चोक चोकका चिया पसलमा हुने ताता बहसले तराईको तातो मौसमलाई अझै रापिलो बनाएको छ ।

 




चुनावको रौनकले दलका नेता, कार्यकर्तासँगै आकांक्षी उम्मेदवारलाई त तताएको छ नै तर यता नवलपुरको मुसहर वस्तीमा भने कहीँ कतै पनि छोएको छैन ।

 

कावासोती नगरपालिका १५ शेरगञ्जमा १ सय २७ घरधुरी मुसहर वस्ती छन्् । यो अति सिमान्तकृत मुसहर बस्तीका स्थानियहरु दैनिक विहान खोला नदी किनारमा माछा मार्ने , ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । देशमा चुनावी माहोल छप्पकै छाएको छ, तर यो बस्तीका स्थानियहरु भने बिहान कमाएर साँझ के खाने भन्ने चिन्ताबाहेक चुनावका बारेमा बेखबर छन् ।

 

स्थानिय डिल कुमारी मुसहर भन्नुहुन्छ, “चुनाव आयो त भनेको छ तर हामीलाई चुनाव भन्दा पनि विहान बेलुका छाक टार्नमा समस्या छ । विहानै माछा मार्ने जाने हो पाए भने त्यहीँ माछा बेचेर दैनिक जिविको पार्जन गर्दै आएका छौँ ।”

 

शेरगञ्जका मुसहर बस्तीका अधिकांश परिवार भोको पेट र कसरी पेटको आगो निभाउने बाहेक चुनावी रौनकबाट बेखबर झैँ छन् । पटक पटकको निर्वाचनमा आफूहरूले भोट दिएको भएता पनि मुसहर बस्तीलाई जनप्रतिनिधिले आश्वासन मात्र बाड्ने काम गरेको उनीहरुको गुनासो छ ।

 

ज्याला मजदुरी गर्दै आउनु भएको सागर मुसहर भन्नुहुन्छ , “चुनावको बेला हामी जहाँजहाँ काम गरेका हुन्छौँ त्यहीँ नेताहरु पुग्छन् । भोट के मा हाल्ने रु यो यो चिन्हमा भोट गर्नु पर्छ हैँ । हामीले हजुरले भनेका सबै कुरा पुरा गछौँ , दिन्छौँ भन्छन् । तर, भोट हालीसके पछि केही दिदैन र पुरा पनि गर्दैनन् । गाउँमा आउनै छाड्छन् । अनुहार नै देखाउदैन ।”

वर्षेनी बाढीको वितण्डा झेल्दै आइरहेको मुसहर बस्तीलाई जनप्रतिनिधिहरुले कमाइ खाने थलो बनाएको उनीहरुको भनाइ छ । यहाँ गत वर्ष आएको बाढीले बालीसंगै खेत वगरमा परिणत गरिदिएको छ, अहिलेपनि बाढी आउने उत्तिकै सम्भावना छ । तर अहिलेसम्म पनि तटबन्धको कार्य कहीँकतैबाट पनि नभएको भन्दै पिरोलिएका छन् ।

 

धन कुमारी मुसहर भन्नुहन्छ, “यो मुसहर बस्तीमा तटबन्धको समस्या छ । खेती लगाउदा खेती खान नी पाइएन । अहिलेसम्म पनि खैँ तटबन्ध छैन । अब बाढी आउने बेलापनि भइ सक्यो । यहीँ अगाडीबाट बाढी आउछ । यो अहिले भएको खेतको पनि भर नै छैन कसरी खाने रु नेताहरुले यो मुसहर बस्तीलाई कमाइ खाने थलो बनाएको छ ।”

 

यस्तै अर्का स्थानिय धन वहादुर मुसहर मुसहर भन्नुहुन्छ, अब चुनाव आयो , “हुन त अब नेताहरु भोट माग्न गाउँगाउँ आउछन् । तर काम गर्ने कसैले पनि होइन । हेर्नु यस्तो गत वर्ष हाएको बाढीले खेत पुरीसक्यो । पहिलेदेखि हामी तटबन्ध चाहियो भनेर कराएकै छौँ । तर हाम्रो कुरा कसैलेपनि सुन्दैन । बाढीले खेत पुरेको क्षतिपुर्ति पनि पाइएन । दुख छ नि मुसहर बस्तीमा कसले सुन्ने हाम्रो दुख पिडा ।”

 

यहाँका अधिकांश बालबालिका विद्यालय पढ्दै अनि केही समयपछि छाड्नेको संख्या धेरै छ। विपन्नताका कारण विद्यालय छाडेर अभिभावकसँगै काममा हिँड्ने पनि उत्तिकै छन् । ०६२/६३ को जनआन्दोलन पछि देशमा ठूलाठूला राजनीतिक परिवर्तन आए । २ सय ३ वर्ष लामो राजतन्त्रको किल्ला ढालेर देशमा लोकतन्त्र आयो । लोकतन्त्रमा सबै जाति, धर्म, समुदायले समान अधिकार पाउने उल्लेख छ । तर तराईका दलितमध्ये सबैभन्दा पिछडिएको मुसहर समुदायको अवस्था भने ज्यूँ का त्यूँ छ । उनीहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र सरकारी सेवाबाट वञ्चित छन्।

 

 



सम्बन्धित
Loading...