कावासोती १६ को राप्रपा कार्यालयमा आगजनीको अनुसन्धान गर्न माग

पूर्वी नवलपरासी — कावासोती नगरपालिका वडा नम्बर १६ मा रहेको राप्रपाको चुनावी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको घटनामाथि कारबाही चाँडो टुंग्याउन राप्रपाले माग गरेको छ ।
दुइ दिनअघि कावासोती नगरपालिकाको वडा नम्बर १६ मा राप्रपाका वडा अध्यक्षका उम्मेदपार सुमन भट्टको घरमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गरेको प्रहरीले वडा अध्यक्षका उम्मेदवारलाई तर्साउन त्यसो गरिएको भन्ने हल्लाका पछाडि सत्यता नरहेको जनाएको छ । सुमनले आफ्नै निवासमा प्रचार कार्यालय खोलेका थिए ।
त्यहाँ भुइतलामा रहेको मोटरसाइकल ग्यारेजमा आगजनी गरेर ४ वटा मोटरसाइकलमा क्षति पुर्याइएको थियो । राप्रपाका जिल्ला अध्यक्ष विष्णु अधिकारीले एक विज्ञप्ति निकालेर घटना छानबिनको माग गरेका छन् ।
पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रज्वल महर्जनले अनुसन्धानको प्रारम्भिक रिपोर्टमा आगजनीको घटना ‘एक्सिडेण्टल केस’ जस्तो देखिन्छ भनेका छन् ।
महर्जनले प्रहरी निरीक्षक जयराम वन्तको कमाण्डामा अनुसन्धान टोली खटाइएको जानकारी दिए । हर्जनले अब चाँडै घटनाको रिपोर्ट आएपछि सार्वजनिक गर्ने बताएका छन् ।