कस्तो छ कावासोतीमा दलहरुको जोड घटाउ




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका नवलपुरको सदरमुकाम रहेको नगरपालिका हो जसले गर्दा पनि यहाँ दलहरुबीच आफ्नो पकट जमाउन दौडधुप हुने गर्दछ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा ८ पालिका मध्ये ६ वटामा अध्यक्ष÷प्रमुख जितेको नेपाली काँग्रेसले कावासोतीमा भने प्रमुख उपप्रमुखमा पराजय बेहोरेको थियो । जसले गर्दा पनि अहिले यहाँ काँग्रेसको जोड जसरी पनि मेयर अर्थात नगरप्रमुख जित्नेमा छ भने एमाले पनि कावासोतीलाई आफ्नो लालकिल्ला जसरी पनि कायम राखिराख्नका लागि जोडतोडका साथ लागि परेको छ ।

 




नेकपा एमाले कावासोतीमा आफ्नो पक्षमा जित निकाल्न राप्रपा देखि अनय साना दललाई मनाउन निक्कै कसरतमा जुटेको थियो र छ भने नेपाली काँग्रेसले उपप्रमुख पद माओवादी केन्द्रलाई र केही वडा अध्यक्ष सहित वडा सदस्य पदहरु गठबन्धन दललाई दिएर जसरी पनि नगरप्रमुख आफ्नो पोल्टामा पार्न लागि कम्मर कसेर लागेको छ ।

 

काँग्रेसले यहाँ यस अघि नेकपा एमालेकी चन्द्रा पुनसँग पराजित भएका महेन्द्र पोख्रेललाई दोहो¥याएको छ भने एमालेले विभिन्न संघसंस्थामा राम्रो छवि बनाएका विष्णु भुसाललाई अगाडि सारेको छ । यहाँ एमालेले कावासोतीको किल्ला जोगाई राख्न राप्रपा लगायतका दलहरुलाई आफ्नो प्रभाव कम रहेको वडाहरुका वडा अध्यक्ष समेत दिएर तालमेल गर्ने कसरतमा लाग्यो तर सहमति भने जुटाउन सकेन । त्यसो त उसले राप्रपालाई कमजोर गराउन राप्रपाका केही वडाध्यक्ष र सदस्यहरुलाई राप्रपा पार्टी छोडाएर उमेदवार (मनोनयन) फिर्ता गराउन पनि सफल भयो ।

 

कावासोतीमा आफ्नो किल्ला जोगाई राख्न एमालेको अगाडि अहिले आंशिक रुपमा भए पनि गठबन्धन भएको सत्ता पक्षीय पाँच गठबन्धन टाउको दुखाई बनेको छ । एमालेबाट विभाजन भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले पनि एमालेको केही भोट काट्ने, माओवादी केन्द्रको पनि २ हजार देखि ४ हजारसम्म भोट काँग्रेसलाई जान सक्ने, जसपाको पनि केही मत काँग्रेसलाई नै थपिने र कावासोती १६ मा रहेको जनमोर्चाका केही मत पनि काँग्रेसलाई नै जान सक्ने भएकोले एमालेलाई यहाँ जित निकाल्न निक्कै कसरत गर्नु पर्ने देखिन्छ ।

 

त्यसो त काँग्रेसलाई सत्ता गठबन्धनकै आडमा जित हात पारिहाल्न सकिन्छ भनेर ढुक्क भएर बस्न सक्ने पनि अवस्था छैन । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आएपछि काँग्रेसले छाडेको नारा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र लगायतका नारा बोकेको राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी काँग्रेसको लागि टाउको दुखाई बन्ने देखिन्छ ।

 

राप्रपाले २ देखि ४ हजार मत काँग्रेसको काटेको खण्डमा काँग्रेसलाई एमालेसँग जित निकाल्न हम्मे हम्मे पर्ने देखिन्छ । राप्रपालाई एक पटक विचार गरौं भन्नेको जनमत विस्तारै कावासोतीमा बढ्दै गएको पनि देखिन्छ । त्यति मात्र नभएर राप्रपाले अधिकांश वडामा आफ्नो वडाध्यक्षदेखि सदस्यसम्म उमेदवार उठाउन सक्नुले पनि राप्रपाको प्रभाव कावासोतीमा बढेको सजिलै आकलन गर्न सकिन्छ । तथापि राप्रपाले काँग्रेसको मात्र नभएर एमालको पनि केही मत काट्न सक्ने आकांलन गरिएको छ ।

 

१७ वटा वडा रहेको कावासोतीमा वडागत नेतृत्वको हिसाबले कुरा गर्दा ८÷८ वटा वडामा काँग्रेस र एमालेले जित हात पारेको थियो भने एउटा वडामा माओवादी केन्द्रले जित हात पारेको थियो ।

त्यसैगरी सत्ता गठबन्धन दलहरुलाई मागे अनुसारको भाग दिएर अझै पनि पूर्ण रुपमा चित्त बुझाई नसकेको कारण पनि काँग्रेससँग भित्रभित्रै गठबन्धन दलहरु असन्तुष्ट देखिन्छ । त्यसको प्रभाव जिल्ला स्तरका सक्रिय नेता तथा कार्यकर्तामा नदेखिए पनि तिनका पार्टी समर्थकहरुमा त्यसको असर पर्न सक्छ जसले काँग्रेसलाई कावासोतीमा जित निकाल्न थप धुरमुरको अवस्थामा सिर्जना गरेको छ ।

 

कावासोतीमा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेकी चन्द्रा पुनले १३ हजार ४१ मत प्राप्त गरेर विजयी भएकी थिइन भने नेपाली काँग्रेसका महेन्द्र पोख्रेलले १२ हजार ५ सय ९४ मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रले २ हजार ८३ मत प्राप्त गरेका थिए ।

 

नगरप्रमुखमा झिनो मत अन्तर फरक भए पनि नगरउपप्रमुखमा भने एमालेको मत अन्तर २ हजार बढी छ । जसले गर्दा पनि काँग्रेस माओवादीको मत एकै ठाउँमा जोड्दा पनि उपप्रमुखमा एमालेको मतभार बराबरी जस्तै देखिन्छ ।

२०७४ को निर्वाचनमा नेकपा एमालेले उपप्रमुखमा १३८१४ मत प्राप्त गरेको थियो भने काँग्रेसले ११६९३ र माओवादी केन्द्रले २२४६ मत प्राप्त गरेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा कावासोतीमा ३८ हजार ९ सय २९ जना मतदाता रहेको थियो भने अहिले त्यो संख्या बढेर ५५ हजार ३ सय ३० पुगेको छ । तथ्यांक अनुसार पछिल्लो ५ बर्षमा कावासोती नगरपालिकामा १६ हजार ४ सय १ जना मतदाता संख्या बढेको छ । जुन अघिल्लो निर्वाचनमा जित हात पार्ने दल वा प्रमुख उपप्रमुखले प्राप्त गरेको मत भन्दा बढी हो । जुन मतदाता कुन राजनीतिक दलका हुन वा कता आस्था राख्छ भन्ने कुनै पनि दललाई मेसो छैन । अधिकांश नयाँ थपिएका मतदाता अनेत्रबाट बसाई सरी आएका र युवा पुस्ताका मतदाता भएका कारण पनि ति मतदाताहरुले कता मतदान गर्छन् भन्नेमा दलहरु पनि अलमलमा छन् ।

 

अघिल्लो निर्वाचनमा ३० हजार १ सय ८० मत खसेको थियो जुन जम्मा मतदाताको जम्मा ७७ दशमलब ५३ प्रतिशत मात्र हो ।

अहिले कावासोतीमा उपप्रमुखमा नेपाली काँग्रेसले माओवादी केन्द्रका उमेदवार पतिराम थनेतलाई समर्थन गरेका छन् भने एमालेले फुलकुमारी थनेतलाई अगाडि सारेको छ ।

 

यि दुई मध्य एक उमेदवारले जित्ने पक्का जस्तै भएको कारण कावासोतीमा उपप्रमुख भने थारु समुदायबाट प्रतिनिधित्व गर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा पनि थारु समुदायकै प्रेमशंकर मर्दनियाले एमालेबाट नगरउपप्रमुखमा जित हात पारेका थिए ।

 

नवलपुर जिल्लाको अहिलेको मतदाता संख्या



सम्बन्धित
Loading...