नवलपुरमा निर्वाचन आचारसहिंता उल्लंघनका घटना बढ्यो

नवलपुर । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघनका घटना मकवानपुरमा बढ्दै गएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पछिल्लो समय उल्लंघनको क्रम बढेको हो ।
नवलपुरमा आचारसंहिता विपरीत काम गर्नेहरूमा सरकारी कर्मचारी, बहालवाला जनप्रतिनिधिदेखि पत्रकारसम्म छन् । निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै पनि दल वा उम्मेदवारको चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुन पाउँदैनन् । तर, नवलपुरमा त्यसको विपरीत दलको चुनावी अभियानमा प्रत्यक्ष रुपमा सरकारी कर्मचारी, शिक्षक र पत्रकारहरू सहभागी भइरहेका छन् ।

बहालवाला जनप्रतिनिधि, सरकारी कर्मचारीहरु दलको चुनावी प्रचारप्रसारमा हिड्ने गरेका छन् भने पत्रकारहरुको उम्मेदवारकै गाडी चढेर चुनावी कार्यक्रमको रिपोटिङ्गको बाहानामा चुनावी प्रचारमा हिड्ने गरेको छ ।
त्यसैगरी केही जनप्रतिनिधिहरु निर्वाचनलाई प्रभावित गर्ने गरी पहिले नै बजेट निकासा भएको अर्थात पहिले नै तय भएको कार्यक्रमको नाममा कृषि औजार लगायतका औजारहरु वितरण गर्ने गरेको पाइएको छ । त्यति मात्र नभएर चुनावी प्रचारप्रसार खटिएका कार्यकर्ताहरुलाई खाजा खानाको बाहानामा भट्टी पसलदेखि पिक्निकसम्ममा भोजभतेर गराउने क्रम पनि उत्तिकै चलेको छ । त्यसैगरी तेलका कुपनहरु बाड्ने क्रम पनि शुरु भएको छ ।
त्यसैगरी नवलपुरमा दलहरुले सार्वजनिक स्थानहरुमा पार्टीका झण्डा, प्रचारहरु टांग्ने समेत गरेको पाइएको छ भने चुनावी कार्यक्रममा आचारसंहिताले तोकेको भन्दा ठूला ठूला साइजका चुनावी झण्डा र प्रचारप्रसारका सामग्रीहरु प्रयोग हुन थालेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन भईरहँदा निर्वाचन आयोग भने मौन बसेको देखिन्छ ।