‘प्रेमी’द्वारा सार्वजनिक रुपमा छात्रामाथि चक्कु प्रहार गरी हत्या, भाइरल भिडियोपछि हंगामा


 

 



‘मेरी छोरी स्कुल शिक्षिका बन्न चाहन्थिन् । त्यसैले मैले उनलाई पढ्नको लागि बहरमपुर पठाएँ । तर अब सबै कुरा सकिएको छ । सुशान्त सधैं मेरी छोरीलाई पछ्याउँथे । तर उसले यस्तो गर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ । ’ सुतपाका बुबा स्वाधीन चौधरीले यी चार–पाँच वाक्य बोल्दा थुप्रै पटक उनी भक्कानिए ।  स्वाधीन माल्दा एक विद्यालयमा शिक्षक हुन् ।

 

सुतपा त्यही कलेजकी छात्रा हुन् जसलाई उनका कथित प्रेमी सुशान्त चौधरीले पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको सदरमुकाम बहरमपुरमा सार्वजनिक रूपमा छुरा प्रहार गरी हत्या गरेका थिए ।

 




यस घटनाको भिडियो भाइरल भएपछि विपक्षीले राज्य सरकारलाई कानुन र व्यवस्थाको मुद्दामा घेरामा राख्दै मुख्यमन्त्री ममता बनर्जीको तत्काल राजीनामाको माग गरेका छन् ।

 

यो घटनाले विशेषगरी बहरमपुरमा घरबाट टाढा बसेर अध्ययन गर्ने छात्रा र उनीहरुका अभिभावकको मनमा त्रास पैदा गरेको छ ।

 

हत्या भएको करिब तीन घण्टाभित्रै मालदा जान खोज्दा सुशान्त पक्राउ परेका थिए । उनलाई स्थानीय अदालतले १० दिनको प्रहरी हिरासतमा पठाएको छ । हाल उनीमाथि सोधपुछ जारी छ ।

 

यस क्रममा सुशान्तले प्रहरीलाई धेरै जानकारी दिएका छन् र अघिल्लो वर्ष फेब्रुअरीमा सुतपासँग विवाह गरेको पनि दाबी गरेका छन् ।

 

सुशान्तका बुबा निखिल चौधरी राज्य प्रहरीमा सब इन्स्पेक्टर हुन् र हाल सिलीगुडीमा कार्यरत छन् । यो घटनापछि अहिलेसम्म परिवारका सदस्य सुशान्तलाई भेट्न पुगेका छैनन् ।

 

बुबा निखिल चौधरी भन्छन्,  ‘छोराको कृत्यबारे कसैसँग कुरा गर्ने अवस्था छैन, के गर्ने भनेर मैले केही निर्णय गर्न पनि सकेको छैन । ’

 

सुशान्त तीन दाजुभाइका माहिला हुन् । उनका दाइ शुभजित भन्छन्, ‘दुई जना करिब दुई वर्षदेखि प्रेममा थिए । तर केही दिनपछि सुशान्तप्रति सुतपाको व्यवहार निकै खराब भएको थियो । जसका कारण सुशान्त मानसिक रूपमा विक्षिप्त बनेको थियो ।’

 

घटनाले सुशान्तकी आमालाई मानसिक रुपमा विक्षिप्त बनाएको छ । यो घटनापछि उनको घरमा चुलो बलेको छैन । छिमेकी र आफन्तले खानेकुराको बन्दोबस्त मिलाइरहेका छन् ।

 

 

सुशान्तकी काकी पुतुल चौधरी भन्छिन्, ‘यी दुई विगत दुई वर्षदेखि प्रेममा थिए । सुतापाका परिवारका सदस्यहरू यो सम्बन्धबाट रिसाएका थिए र उनीहरूको विवाहमाथि कडा आपत्ति जताउँदै आएका थिए । उनलाई केही स्थानीय केटाहरूले कुटपिट गरेका थिए र ल्यापटप पनि खोसेका थिए ।’

 

मालदाको गौर कलेजमा पढेका सुशान्त त्यहाँ आफ्नी काकी शान्ति रानी चौधरीको घरमा बस्थे । त्यहाँ बस्ने सुतपाको घरमा शान्तिको परिवारका सदस्यको आउजाउ थियो र त्यहाँ नै दुईबीच प्रेम बस्यो ।

 

शान्ति रानी भन्छिन्, ‘दुबै एकअर्कालाई माया गर्थे । तर के भयो थाहा छैन, सुतापाले सुशान्तलाई असाध्यै गाली गर्न थालिन् ।’

 

 

सुशान्तले अपराध स्वीकारेः

उनका अनुसार केही दिनदेखि सुशान्तको मनोवृत्ति परिवर्तन भएको थियो र उनी स–सानो कुरामा रिसाउने, झर्किने गर्दथे । उनी धेरैदिनसम्म ननुहाइकन बस्ने गर्दथे र खाना पनि मन लगाएर खाँदैनथे ।

 

यसैबीच सुशान्तले सोधपुछका क्रममा प्रहरीलाई धेरै जानकारी दिएका छन् । बहरामपुरका एक प्रहरी अधिकारीले सुशान्तले प्रेम र हत्या गरेको स्वीकार गरेको बताएका छन् ।

 

हत्या हुनुभन्दा तीन दिनअघि सुशान्त मालदाबाट बहरामपुर आएका थिए र सुतपाको गतिविधि गोप्य रूपमा निगरानी गरिरहेका थिए ।

 

प्रहरीका अनुसार सुशान्तले गत वर्ष फेब्रुअरीमा सुतपासँग विवाह गरेको बताएका छन् । तर चार महिनापछि उनीहरुको सम्बन्धमा दरार आयो । त्यसपछि उनले डिप्रेसनको औषधि पनि खान थाले ।

 

प्रहरीका अनुसार सुशान्तलाई उनले अरु कसैलाई प्रेम गर्न थालेको हो कि भन्ने शंका थियो । त्यसैले उनले उसको हत्या गर्ने निर्णय लिए । प्रहरीका अनुसार उनले उनी बस्दै आएको स्थानमै गएर हत्या गरेका हुन् ।

 

 

मुर्शिदाबादका पुलिस अधीक्षक के. सबरी राजकुमारका अनुसार अहिले सुशान्तसँग सोधपुछ चलिरहेको छ र उनीबाट प्राप्त जानकारीको पुष्टि गर्ने काम भइरहेको छ । प्रहरीले प्रेम, डिप्रेसनलगायत सबै पक्षमा अनुसन्धान गरिरहेको छ ।

 

 

प्रहरीले सुशान्तको फेसबुक पोस्टको बारेमा पनि अनुसन्धान गरिरहेको छ । यता, विपक्षी दलले यो घटनालाई बहाना बनाएर सरकारमाथि शान्ति सुरक्षाको मुद्दा निकालेका छन् । घटनाको विरोधमा प्रदेश कांग्रेस अध्यक्ष तथा स्थानीय सांसद अधीर चौधरीको नेतृत्वमा मैनबत्ती जुलुस निकालिएको थियो ।

 

 

अधीर भन्छन्, ‘बहरमपुर महिलाका लागि एकदमै सुरक्षित ठाउँ थियो । तर अहिले कानुन व्यवस्थाको अवस्था निकै बिग्रिएको छ । दोषीलाई यस्तो सजाय दिनुपर्छ जसले उदाहरण देओस् ।’

 

बीजेपी नेता शुभेन्दु अधिकारी भन्छन्, ‘यस घटनाले महिलामा असुरक्षाको भावना बढाएको छ । यो घटनाले पूर्णतया कानुन व्यवस्था ध्वस्त भएको प्रमाण हो । ममताले तत्काल राजीनामा दिनुपर्छ ।’

 

 



सम्बन्धित
Loading...