बाजुरामा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच दिनभर झडप




बाजुराको बुढीनन्दा नगरपालिका– ९ पाण्डुसैनस्थित अगाउपानीमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबार दिनभर झडप भएको छ । झडपमा १० प्रहरी, कांग्रेसका तीन र समाजवादीका दुई कार्यकर्ता घाइते भएका छन् ।

 

समाजवादीका जिल्लासचिव पुरबहादुर रावतमाथि खुकुरी प्रहार भएको छ । उनको पाखुरामा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

 




कांग्रेस कार्यकर्ताले पाण्डुसैनमा रहेको अस्थायी प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । कांग्रेस कार्यकर्ताले कुटपिट गरेको भन्दै समाजवादीका कार्यकर्ता सुरक्षा माग्दै प्रहरी चौकी पुगेपछि कांग्रेस कार्यकर्ताले चौकी घेरा हालेका थिए ।

 

समाजवादीका कार्यकर्तालाई संरक्षण गरेको भन्दै उनीहरूले चौकी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

 

झडपको खास कारण खुलेको छैन । दुवैपक्षले अलगअलग दावी गरेका छन् । समाजवादीका जिल्लासचिव रावतले विरामी नातेदार भेट्न जाने क्रममा लुकेर बसेका कांग्रेस कार्यकर्ताले ज्यान मार्ने उद्देश्यले आफूमाथि खुकुरी प्रहार गरेपछि झडप भएको दावी गरे ।

 

टाउकोमा ताकेर खुकुरी हानेको भए पनि छलेकाले पाखुरामा लागेको उनको भनाइ छ । काँग्रेस नेता तथा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र रोकायाले भने समाजवादीका कार्याकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि दोहोरो झडप सुरु भएको दावी गरे ।

 

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र बोगटीले झडप किन भयो भन्ने एकिन हुन नसके पनि समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

 

 

दुई पार्टीका कार्यकर्ताबीच दिनभर पटकपटक झडप भएपछि जिल्ला सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलसहित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलतिर गएको छ ।

 

डिएसपी ओझाले साँझ ६ बजेतिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी दुई सयभन्दा बढी सुरक्षाकर्मी घटनास्थल पुगेको र अहिले स्थिति सामान्य रहेको जानकारी दिए । झडप भएको स्थान जिल्ला सदरमुकामदेखि ४० किलोमिटर टाढा पर्छ ।

 



सम्बन्धित
Loading...