कावासोती नगरपालिकालाई आयो अख्तियार पत्र

कावासोती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कावासोती नगरपालिकालाई पत्र काटेको छ ।
पूर्वी नवलपरासीको कावासोती ९ र १४ को सिमानामा रहेको सरकारी जग्गा एउटै व्यक्तिले पटक पटक विभिन्न व्यक्तिलाई बेचेको भन्ने विषयलाई लिएर पत्र काटेको हो ।
साविक अग्यौली २ क को कित्ता नं. १ र ७८ को करिब ९० विगाहा जग्गा केरुङ्गे खोलाको धार परिवर्तन भएर खोला चौरमा परिणत भएपछि एउटै जग्गा एउटै व्यक्तिले पटक पटक विभिन्न व्यक्तिलाई बेचेको विषयमा पत्र काटिएको हो ।
पत्रमा अख्तियारले उक्त जग्गा अतिक्रमण भए नभएको, अतिक्रमण भएको भए अतिक्रमण हटाउने सम्बन्धमा कावासोृती नगरपालिकाले काम गरे नगरेको लगायतको जवाफ माग गरी पत्र काटेको छ ।
त्यसैगरी कित्ता नं. १ र ७८ को जग्गा एकव्यक्तिले पटक पटक फरकफरक व्यक्तिलाई विक्री गरेको हो होइन, स्थलगत रुपमा निरीक्षण गरी उक्त जग्गाहरु हाल के कसरी भोग चलन भईरहेको भनेर यथार्थ विवरण १५ दिन भित्र पठाउने भनेर बैशाख २१ गतेको मितिमा पत्र काटिएको छ ।
कित्ता नं. १ र ७८ दुवै सरकारी जग्गा हो । उक्त जग्गाको सरकारको लालपूर्जा रहेको छ । कित्ता नं. १ को ४ विगाहा ३ कठ्ठा १४ धुर जग्गा पहिला आफूले जोतभोग गरेको भन्दै कावासोती १४ एक जना स्थानीयले विभिन्न व्यक्तिलाई पटक पटक विक्री गरेको देखिन्छ ।
कित्ता नं. १ र ७८ को जग्गा केही स्थानीय अतिक्रमण गरेको समाचार दाउन्ने साप्ताहिकमा प्रकाशित भएपछि कावासोती नगरपालिकाले उक्त क्षेत्रमा नापी समेत गरेको छ । नापीको क्रममा कित्ता नं. १ र ७८ नम्बरको कित्ताको जग्गा नभई सार्वजनिक जंगल क्षेत्र भनेर नक्सामा अंकित गरिएको जग्गा भने अतिक्रमण भएको पाइएको जंग्गा संघर्ष समितिका सचिव विष्णु प्रसाद पोख्रेलले बताए ।
अतिक्रमित क्षेत्र र कित्ता नं. १ र ७८ को जग्गा संरक्षणका लागि कावासोती ९ का बासिन्दाले संघर्ष समिति गराएर जग्गा संरक्षण गर्दै आएको छ ।
