नवलपुरमा बढे आचारसहिंता उल्लङ्घनका घटना

नवलपुर । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घनका घटना नवलपुरमा बढ्दै गएको पाइएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पछिल्लो समय उल्लङ्घनको क्रम बढेको पाइएकोे छ ।
नवलपुरमा आचारसंहिताविपरीत काम गर्नेहरुमा सरकारी कर्मचारी, बहालवाला जनप्रतिनिधिदेखि पत्रकारसम्म छन् । निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै पनि दल वा उमेदवारको चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुन पाउँदैनन् ।
तर, नवलपुरमा त्यसको विपरीत दलको चुनावी अभियानमा प्रत्यक्ष रुपमा सरकारी कर्मचारी, शिक्षक र पत्रकारहरु सहभागी भएको पाइएको छ ।
बहालवाला जनप्रतिनिधि, सरकारी कर्मचारीहरु दलको चुनावी प्रचारप्रसारमा हिँड्ने गरेका छन् भने पत्रकारहरु उमेदवारकै गाडी चढेर चुनावी कार्यक्रमको रिपोटिङको बहानामा चुनावी प्रचारमा हिँड्ने गरेका छन् ।
त्यसैगरी केही जनप्रतिनिधिहरुले निर्वाचनलाई प्रभावित गर्ने गरी पहिले नै बजेट निकासा भएको कार्यक्रमको नाममा कृषि औजारलगायतका औजारहरु वितरण गर्ने गरेको पाइएको छ ।
त्यति मात्र नभएर चुनावी प्रचारप्रसारमा खटिएका कार्यकर्ताहरुलाई खाजा खानाको बहानामा भट्टी पसलदेखि पिकनिकसम्ममा भोजभतेर गराउने क्रम पनि उत्तिकै चलेको छ । त्यसैगरी तेलका कुपनहरु बाड्ने क्रम पनि सुरू भएको छ ।
त्यसैगरी नवलपुरमा दलहरुले सार्वजनिक स्थानहरुमा पार्टीका झन्डा, प्रचारहरु टाँङ्ने समेत गरेको पाइएको छ भने चुनावी कार्यक्रममा आचारसंहिताले तोकेको भन्दा ठूलाठूला साइजका चुनावी झन्डा र प्रचारप्रसारका सामग्रीहरु प्रयोग हुन थालेका छन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहँदा निर्वाचन आयोग भने मौन बसेको देखिन्छ ।