पाकिस्तानी सांसदमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् यस्ता गम्भीर आरोप, “तीन महिना अघि मात्रै भएको थियो विवाह”

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन ।
४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब दानिया शाहले लियाकतसँग सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन् ।
दानिया शाहले लियाकतमाथि घरेलु हिंसाको आरोप लगाउँदै विवाह खारेज गर्न अदालतसँग माग गरेकी छन् । आमिर लियाकत इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका सदस्य हुन् ।
दानिया शाहले आफ्नो इन्स्टाग्राममा आमिर लियाकतसँग अलग भएको पुष्टि गर्दै आफू अदालत गएको बताएकी छिन् । उनले आफ्नो भिडियोमा यसबारे मिडियाले थप जानकारी पाउने बताएकी छिन् ।
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै दानियाले आमिर लियाकतले आफूमाथि अत्यन्तै निर्दयी व्यवहार गरेको आरोप लगाइन् । ‘उनले मलाई तीन–चार दिनसम्म कोठामा थुनेर राखे । उनले मलाई समयमा खान पनि दिएनन्,’ उनले भनिन् ।
आमिर लियाकतले आफूलाई गोली हान्न धम्की मात्र नदिई घाँटी थिचेर हत्या गरेकोसमेत उनले आरोप लगाइन् ।
उनले भनिन्, ‘यदि मलाई, मेरो भाइ वा मेरो परिवारलाई केही भयो भने आमिर लियाकत जिम्मेवार हुनेछन् ।’
विवाह तोडेको भन्ने दाबीमा के छ ?
दानिया शाहले आमिर लियाकतमाथि मादक पदार्थ सेवन गरेको, प्रताडित गरेको र जबर्जस्ती अश्लील भिडियो बनाएको आरोप लगाउँदै उनीविरुद्ध दाइजो र भरण–पोषणको दाबी पनि दर्ता गरेकी थिइन् ।
सामाजिक सञ्जालमा शेयर भइरहेको दस्तावेजका अनुसार दानिया शाहले आमिर लियाकतसँग मासिक एक लाख भारुको माग गरेकी छिन् । यसबाहेक उनले ११ करोडको घर र गाडीको पनि माग राखेकी छिन् ।
जियो न्यूजका अनुसार दानिया शाहले पीटीआई सांसदले उनलाई सानो कोठामा थुन्थे र रक्सी खाएर कुटपिट गर्ने गरेको आरोप लगाएकी छिन् । दानियाले आमिरले आफू र आफ्नो परिवारलाई धम्की दिएको आरोप पनि लगाएकी छिन् । दानिया शाहले आमिर लियाकतलाई ‘शैतानभन्दा खराब’ बताएकी छिन् ।
दानियाको याचिकामा जुन ७ मा अदालतमा सुनुवाइ हुनेछ ।
दानियाले लगाएको आरोपको जवाफमा अमिर लियाकत हुसैनले ट्वीटरमा आफ्नो प्रतिक्रियामा आफूमाथि लागेको आरोप झुटो भएको बताएका छन् ।
यी दुई छुट्टिएपछि पाकिस्तानमा फेरि एकपटक बहस सुरु भएको छ । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले आमिर लियाकतलाई गलत बताइरहेका छन् भने कतिपयले आमिर लियाकतको सत्यता बुझेर पनि दानिया शाहले पैसाका लागि उनीसँग विवाह गरेको भनिरहेका छन् ।
यही वर्षको फेब्रुअरीमा भएको थियो विवाहः
४९ वर्षीय राजनीतिज्ञ तथा सांसद अमिर लियाकत हुसैनले फेब्रुअरीमा ट्वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको र यो उनको तेस्रो विवाह भएको बताए । दुवैको उमेरमा करिब ३१ वर्षको अन्तर छ ।
लियाकत हुसैनले आफूले दक्षिण पञ्जाबको लोधरानमा बस्ने सआदत परिवारकी सय्यदा दानिया शाहसँग विवाह गरेको बताएका थिए । उनको उमेर १८ वर्ष भएकोसमेत उनले उल्लेख गरेका थिए ।
त्यसबेला लियाकतकी दोस्रो पत्नी सैयदा तूबा अनवरले उनीहरुको सम्बन्धविच्छेदको बारेमा मानिसहरूलाई जानकारी गराएकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘भारी मनका साथ, म मेरो जीवनमा आएको परिवर्तन बारे जानकारी दिन चाहन्छु । मेरो परिवार र नजिकका साथीहरूलाई थाहा छ कि १४ महिना टाढा रहेपछि यो स्पष्ट भयो कि मेलमिलापको कुनै आशा छैन र मैले विकल्प रोज्नु पर्यो ।’
तूबा अनवरले यो पोस्टमा लेखेकी छिन्, ‘यो कति गाह्रो थियो म भन्न सक्दिनँ । अल्लाहमाथि विश्वास राख्छु । म सबैलाई यो कठिन समयमा मेरो निर्णयको सम्मान गर्न अपिल गर्दछु ।’
यी दुईको विवाह सन् २०१८ मा भएको थियो । लियाकतकी जेठी श्रीमतीले पनि उनलाई फोनमा डिभोर्स दिएको आरोप लगाएकी थिइन् ।