कमिशनको चक्करमा विद्यार्थीले पाएनन् पुस्तक

कावासोती । विद्यार्थी भर्ना अभियान चलिसक्दा पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कमिसनको चक्करमा विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन् ।
कावासोती नगरपालिकाले आफै विद्यार्थीहरुलाई निशुल्क पुस्तक दिने निर्णय गरेर नगरपालिका आफैले पुस्तक समेत छनौट गरेपछि यहाँ कमिसनको खेल नमिलेको हो ।
कावासोतीमा भर्ना अभियान शुरु भएको ७ दिन भईसक्दा पनि विद्यार्थीहरुले अझै पुस्तक पाउन सकेका छैनन् ।
नगरपालिका, साना पुस्तक व्यवसायी, इम्बक्स नवलपुर र होलसेल पुस्तक विक्रेता बीच कमिशनको विषयमा कुरा नमिल्दा पुस्तक विक्रीमा समस्या आएको हो ।
कावासोतीमा अहिले साना पुस्तक व्यवसायीहरुले आफूहरुले पाउने नाफा घटेर आएको भन्दै विक्री गर्न मानेको छैन । यस अघि पुस्तक विक्रीमा १५ देखि २० प्रतिशत नाफा हुनेमा अहिले १० प्रतिशत विक्री गर्न मानेको छैन ।
कावासोती नगरपालिकाले यस बर्षदेखि कावासोती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यार्थीहरुलाई पनि निशुल्क पाठ्यपुस्तक दिने निर्णय गरेको छ ।
जसका लागि नगरपालिकाले १ करोड २० लाख बढी यस अघिको कार्यपालिका वैठकले विनियोजन गरिसकेको छ ।
बजारमा प्रशस्तै पुस्तक भएको तर साना पुस्तक व्यवसायीहरुले किनेर नलगेको कारण विद्यार्थीहरुको हातसम्म पुस्तक नपुगेको प्रकृति पुस्तक पसलका सञ्चालक गीता पराजुलीले बताए ।
इम्बक्स नवलपुरका अध्यक्ष शिव देवकोटाले आफूहरुले कहि कतैबाट कमिसन नलिएको र कुनै प्रकाशनले इम्बक्सलाई गरेको सहयोगबाट भने इम्बक्समा आवद्ध विद्यालयहरुलाई सहयोग गर्ने गरेको बताए । उनले आफूहरुका कारण पुस्तक विक्रीमा समस्या नआएको बताए ।
कावासोती नगरपालिकाले पुस्तकको मूल्यको १० प्रतिशत छुटमा रकम भुक्तानी गर्ने सहमति गरेको छ । नगरपालिकालाई दिने छुट र इम्बक्सलाई दिने कमिसन साना पुस्तक व्यवसायी वा होलसेल पुस्तक विक्रेता कसले दिने भन्ने विषय विवाद नमिलेको हो ।
जनक शिक्षाको पुस्तक आइपुगेन
जनक शिक्षा सामाग्रीले लगाएको पुस्तक नवलपुरमा अझै आइपुगेको छैन । निर्वाचनका कारण जनक शिक्षा सामग्रीको कक्षा ४ देखि १० कक्षासम्मको पुस्तक अझै नआइपुगेको हो ।
पुस्तक व्यवसायीहरुका अनुसार जनक शिक्षा सामग्रीको पुस्तक भने निर्वाचन पछि मात्र विक्री खुल्ला गरिने जनाइएको छ ।