नवलपुरः मतदाता शिक्षा कार्यक्रम नहुँदा मतदाता अन्यौलमा, गठबन्धनलाई बढी घाटा हुने


गठबन्धन दलका उमेदवारहरुलाई कसरी मत गर्ने भनेर जिज्ञासा सहित नमुना मत पत्र हेर्दै कावासोतीका जेष्ठ नागरिकहरु


वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झनै बढेको हो ।

यस वर्ष सत्तासीन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको छ । मतदान गर्ने दिन नजिकिए पनि मतदाता शिक्षामा आवश्यक चासो नदेखिएको मतदाताको गुनासो छ ।




कावासोती ५ की विष्णु माया ठाडा मगरले कसरी मतदान गर्ने भन्ने अन्योलमा छिन् । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा विष्णुमायाजस्ता धेरै मतदाता अहिले अलमलमा छन् । देवचुलीकी शारदा विश्वकर्माले पनि मतदान प्रक्रियाबारे जानकार नभएको बताइन् । पहिलेको निर्वाचनमा गाउँगाउँमा मतदान शिक्षाबारे जानकारी गराइन्थ्यो। तर, अहिले कसरी मत हाल्ने भन्ने जानकारी नहुँदा मत खेर जान्छ कि भन्ने चिन्ता रहेको उनले बताइन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताए । उनले भने २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्दा सोही दिन नमूना मतदान गरेर मतदाता शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।

मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त भएकाले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारहरू बताउँछन् ।
निर्वाचन प्रचारको अवधि सकिएन लागेको र मौन अवधि शुरु हुन लागेकोले पनि मतदाता शिक्षा दिन दलका नेता तथा कार्यकर्ताहरु सबैको घरघर पुग्न सक्ने सम्भावना निक्कै कम देखिएको छ । विशेषगरी, नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक रहेको देखिन्छ ।

 

 



सम्बन्धित
Loading...