दलितहरू एकजुट भएर वडाका सबै पद जिते




जुम्ला — कनकासुन्दरी गाउँपालिका ८ को दलित बस्तीमा आइतबार बेग्लै उत्साह थियो । नहोस् पनि किन ? गाउँमा दलित समुदायको बाहुल्यता छ । तर, राजनीतिक दलले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार बनाएनन्, बरू दलितहरूमाथिको दमनलाई प्रश्रय दिइरहे । आफूहरूकै बाहुल्यता भएर पनि अवसर नपाएपछि यहाँका दलितहरूले एकता देखाए र स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षसहित चार पदमा दलका उम्मेदवारलाई जितेर देखाएका छन् ।

 

मुख्य दलको दबदबा चिर्दै दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजय भएपछि सिंगो बस्तीमा खुसीयाली छाएको छ । बाजागाजा र नाराजुलुससहित विजय र्‍यालीले दलित बस्ती उन्मुक्त छ ।

 




स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्षमा जितेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद उपाध्यायले २ सय २० मत ल्याएका थिए ।

दलित समुदायबाट स्वतन्त्र उम्मेदवारी दिएका गोल दमाई र कर्णजीत सार्कीले पनि वडा सदस्य जिते । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल नै विजयी भइन् । एक मात्र महिला सदस्य पदमा भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा यहाँबाट नेकपा एमालेले जितेको थियो । तर, त्यो बेला दलित महिला सदस्यबाहेक पदमा दलित समुदायको कोही पनि थिएनन् । धनबहादुर एमालेकै कार्यकर्ता हुन् । एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागे । तर, दलित भएकै कारण पार्टीले आफूलाई अवसर नदिएको महसुस भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर अघि बढेका हुन् ।

 

‘ठुला दलमा हाम्रो कुनै भाउ छैन । बस्तीको हकहितका निम्ति सबै समुदायलाई मनाएर स्वतन्त्र मै भएपनि उठ्छु भन्ने लाग्यो,’ धनबहादुर भन्छन्, ‘त्यसपछि उम्मेदवारी दर्ताको केही दिन अघि गाउँ भेला बोलाएँ । अनि प्यानल नै बनाएर स्वतन्त्र उठ्ने निर्णय गरेँ ।’

कनकासुन्दरी–८ मा ६ गाउँ छन् । सञ्जेलबाडा, सुमलगाउँ, कुलालबाडा, रोकायाबाडा, भट्ट भण्डारीबाडा र पाउसेरा । यीमध्ये सञ्जेलबाडा, सुमलगाउँ र कुलालबाडा दलित बाहुल्य गाउँ हुन् । जहाँका २ सय २५ दलित घरधुरीमा ६ सय मतदाता छन् । वडामा कुल मतदाताको संख्या १३ सय छ । जसमध्ये यसपाला १ हजार ४२ मत खसेको थियो ।

गाउँमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेस पार्टी सक्रिय भए पनि उनीहरूले मुख्य पदमा दलित समुदायबाट कसैलाई पनि उम्मेदवार बनाउने गरेका छैनन् । वडाध्यक्ष निर्वाचित कामी त्यही कारण आफूहरू एकजुट भएको बताउँछन् ।

‘चुनावमा दलित मतदाता किन्न पाइन्छ भन्दै हेपाह नजरले हेर्ने चलन छ । दलितको गरिबी र अशिक्षाको लाभ लिएर चुनाव जित्ने, तर दलितका लागि केही नगर्ने परम्परा बनेको छ,’ उनले भने, ‘त्यसकारण पनि दलित बस्तीमा सबैको सहयोग पाउन गाह्रो परेनँ । त्योसँगै अन्यले पनि साथ सहयोग दिनुभयो ।’

 

यहाँका दलित बस्तीमा समस्याका चाङ छन् । जातकै आधारमा हुने छोइछिटो उस्तै छ । यहाँ दलित र गैरदलितले पानी भर्ने धारामात्रै होइन, मृत्युपछि अन्तिम संस्कार गर्ने घाटसमेत अलग–अलग छन् । दलितहरूले धारा पधेरोमा सहजै पानी भर्न पाउँदैनन् ।

कथित उच्च जातका पुराना पुस्ताहरु उनीहरुसँगै बसेर खाँदैनन् । दलित बस्तीको चिहान घाट अलग्गै छ, त्यो पनि गैरदलितले नापी नक्सा गरिसकेका छन् । बिहेबारीमा एकै भोजभतेर चल्दैन ।

‘स्थानीयको सबैभन्दा ठुलो गुनासो भनेको आफूहरूलाई दलहरूले रबर स्ट्याम्प बनाए भन्ने थियो,’ स्थानीय चुना कामी भन्छिन्, ‘दलितले कहिल्यै सुख मुनले बस्न पाएनौं । सधैं अरुको पिसानीमा पर्‍यौँ । चुनावमा भोट बैंक बन्यौं । अघि पछि केही पाएनौं ।’

अघिल्लो स्थानीय तह निर्वाचनपछि यहाँका दलितहरुको साझा माग थियो- हिमा खोलामा पुल बनाइयोस् । तर, पुलको विषयमा जनप्रतिनिधिको ध्यान गएन ।

चुनाले पुल नभएकै कारण खेतबारीमा आउजाउ गर्न पनि खोला तर्नु परिरहेको उनले बताइन् ।‘अहिले सम्म गाउँमा राम्रो बाटो छैन । पानीको चरम अभाव छ,’ दलित अगुवा वीरमान कामीले भने ।

वडाध्यक्षमा चुनाव जितेका धनबहादुर कामी भने एकतामा बल हुने प्रमाणित भएको बताउँछन् ।

‘यो पटक एकता नै बल हो भन्ने प्रमाणित गरेका छौं । दलितको हरेक घरको विकासको अगुवा त बन्छौं नै, गैरदलितको पनि गुनासा सम्बोधन गरेर देखाउने अठोट गरेका छौं,’ उनले भने । -ekantipur.com बाट



सम्बन्धित
Loading...