नवलपुरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण
नवलपुर । पूर्वी नवलपरासीमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।
शुक्रबार कावासोतीमा नवलपुर जिल्लाका ८ वटै पालिकाका नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुलाई जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नवलपुरमा गैडाकोटबाट नगरप्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी, देवचुली नगरपालिकामा नेकपा एमालेका हरि न्यौपाने, कावासोती नगरपालिकामा नेकपा एमालेका विष्णु भुसाल, देवचुली नगरपालिकामा नेकपा एमालेका भिमलाल अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी पालिका अध्यक्षहरुमा हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मी पाण्डे, बुलिङ्गटार गाउँपालिकामा नेकपा एमालेका दिपेन्द्र सुनारी, बौदीकाली गाउँपालिकामा नेकपा एमालेका प्रकाश ओझा र विनयी त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका घनश्याम गिरी निर्वाचित भएका छन् ।
सपथ ग्रहण कार्यक्रममा संघीय सभा सदस्य तिलक महत, प्रदेश सभा सदस्य रोशनबहादुर गाहा, ओमकला गौतम, नवलपरका राजनीतिक दलका प्रतिनिधिहरु, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी आज नै कावासोती नगरपालिका, देवचुली नगरपालिका लगायतका नगरपालिकाहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।




