जित पछिको उन्माद, विजयी र्यालीमा दुर्घटना, २ जनाको निधन, २० बढी घाइते

नवलपरासी । नवलपरासीमा स्थानीय तहको निर्वाचन पछि विजयी जुलुस निकाल्ने क्रममा ठाउँठाउँमा दुर्घटनामा भएको छ । दुर्घटनामा परी पूर्वी नवलपरासीमा १ जना र पश्चिम नवलपरासीमा एक जनाको निधन भएको छ ।
दुवै जिल्लामा गरी भएको दुर्घटनामा २ जनाको निधन भएको छ । त्यसैगरी विजयी जुलुसका क्रममा भएको विभिन्न दुर्घटनामा परी २० बढी घाइते भएका छन् । पश्चिम नवलपरासीमा एमालेको र्यालीमा सहभागी एक जनाको दुर्घटनामा परी निधन भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका लोकबहादुर चौधरीको विजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका वडा नं १२ कसिया बस्ने २४ वर्षिय अनिल सहानी एमालेको विजय जुलुसमा पिकअपबाट खसेर मृत्यु भएको हो ।
तीन दिन पहिले गम्भीर घाइते भई जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन दिने पहिले मृत्यु भएको भए पनि एमालेको विजय जुलुस र सपत ग्रहणमा असर पर्ने भएकोले मृत्य घोषणा नगर्न एमालेले दवाव गरेको तथा यस घटनालाई दवाउने समेत प्रयास भई रहेको स्थानीयले गुनासो गरेका छन् ।
हाल मृतक शरीरलाई परिवारले नबुझेकोले पोस्टमार्टम जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासी भइरहेको तथा यस घटनाबारे थप अनुसन्धानको लागि गाडी र डाइवरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको विजयी जुलुसमा हिडेको बसको ढोकाबाट खसेर एकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउपालिकाको बघुवन स्थित भित्री सडक खण्डमा नेपाली काँग्रेसका कार्यकर्ता लिई विजयी ¥यालीका लागि बघुवनबाट दुम्किबासतर्फ आउदै गरेको गरेको लु १ ख ३९४६ नं. को बसकको ढोबाबाट खसेर सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा नेपाली काँग्रेसका कार्यकर्ता बेग बहादुर कुमाल रहेका छन् ।
प्रहरीले उनको दुवै खुट्टाको साप्रामा गम्भीर चोट आएको र उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको र सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाको थप अनुसन्धान भई रहेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा नेकपा एमालेको विजयी जुलुसमा सहभागी भएर फर्कदै गरेको बोलेरो दुर्घटनामा परेर ८ जना घाइते भएको छन् ।
लु ७६४७ नम्बरको बलेरो जिप कावासोती १० को बिजय र्याली मनाएर फर्किने क्रममा कावासोती १५ को केरु·े पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
दुर्घटनामा स्थानीय अर्जुन न्यौपाने, बालकृष्ण ढुंगाना, मोतिराम महतो र लोक बहादुर महतो सामन्य घाइते भएका छन भने मधुसूदन गिरी, ऋषीराम थनेत, नरेश मुखिया र सुर्य बहादुर महतो गम्भीर घाइते भएको कालीगण्डकी नारायणी अस्पतालले जनाएको छ । घाइते मध्य मधुसुदन गिरीको टाउकोमा रगत जमेको छ । उनको पुरानो मडिकल कलेजमा उपचार भईरहेको छ।
घाइते मध्यका सुर्य बहादुर महतोको अबस्था चिन्ताजनक रहेकोले जटिल रहेकोले उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
कावासोती नगरपालिका १० को मतगणनाको मत परिणाम आएपछि बिजय र्याली सुरु भएको थियो । विजय र्याली सकिएपछि साउन्ड सिस्टम छोड्न गएको बलेरो दुर्घटना भएको हो । बिजय उत्सब मनाउने बेला घटनाका कारण कावासोती १० का नवनिर्वाचित जनप्रतिनिधि घाइतेहरुलाई भेट्न अस्पताल पुगेका थिए ।
त्यसैगरी पूर्वी नवलपरासीमा ने.क.पा. एमालेको विजय र्यालीमा जाने क्रममा कार्यकर्ता बोकेको अटो दुर्घटना भएको छ ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका वार्ड नम्बर १५ बेलबारी स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको हाल नम्बर नखुलेको कार्यकर्ता बोकेको अटो आफै अनियन्त्रित भई पल्टिन जादा दुर्घटना भएको हो ।
प्रहरीले अटोमा स्थानिय तह निर्वाचनमा विजयी भएको भन्दै विजयी र्यालीमा हिडेका अन्दाजी १५÷१६ जना ने.क.पा. एमालेका कार्यकर्ता सवार रहेको बताएको छ ।
घाईतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा तथा नारायणी सामुदायिक अस्पताल चितवन पठाईएको छ ।
छैन राजनीतिक दलको चासो
जनताहरु उत्साहाजनक रुपमा आफ्ना दलको र्यालीमा सहभागी भए, मतदानका दिन हावाहुरी, पानी, घाम नभनि लामो लाइनमा बसेर मतदान गरे। आफ्ना लागि निर्वाचित जनप्रतिनिधिले केही गर्छन् कि भन्ने आशमा मतदान गरे ।
दलका उम्मेदवारहरुले जिते, कार्यकर्ताहरु उत्साहापूर्वक र्यालीमा सहभागी भए। त्यही र्यालीमा दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत दिन वा पार्टीका लागि उत्सवमा सहभागी हुँदा ज्यान गुमाएको हो भन्नेप्रति राजनीतिक दललाई कत्ति पनि हेक्का छैन। वडा तहका जनप्रतिनिधिहरुले पीडितका परिवारलाई भेटपनि पार्टीको कार्यक्रममा जाँदा ज्यान गुमाएका हुन, घाइते भएका हुन् तपाईहरुलाई पार्टीले हेर्छ सम्म पनि भन्न नसेकेको पीडितका परिवारहरु बताउँदछन् ।
नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले पालिका तहका पार्टी कमिटिलाई स्थानीय तहमा आइपरेका समस्या हल गर्न भनिएको बताए तथापि उनले पार्टीले पीडित परिवारलाई पार्टीका तर्फबाट छुट्टै क्षतिपूर्ति वा राहत दिन कुनै सोच बनाइ नसकेको बताए।
त्यसैगरी नेपाली काँग्रेस नवलपुका उपसभापति बालकृष्ण घिमिरेले स्थानीय कमिटिलाई तत्काल पार्टीले गर्न सक्ने निर्देशन दिएको बताए। उनले पनि प्रष्ट रुपमा पार्टीले यो सहयोग गर्छ भनेर भन्न सकेनन्।
बघुवनमा निधन भएका काँग्रेसका कार्यकर्ताको अन्तिम संस्कारमा जाँदा हालै निर्वाचित वडा अध्यक्षले शोक सभामा पार्टीका तर्फबाट छुट्टै राहत दिन्छु भनेर एक शब्द पनि नबोलेको स्थानीयले बताए। उनका परिवारले अझै क्रिया वापतको खर्च रकम पनि पाउन सकेका छैनन् ।
भएन ट्राफिक पालना
नवलपुरमा जित पछिको उत्सवमा निकालिएको र्यालीमा ट्राफिक नियम व्यापक उल्लंघन भएको पाइएको छ । अटो दुर्घटना हुँदा १४ जना घाइते हुने, बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएको घटनाले पनि ट्राफिक नियमको पालना नभएको प्रष्ट पार्दछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रदिप थापाले ट्राफिक गाउँगाउँमा पुग्न नसकेका कारण गाउँमा धेरै ट्राफिक नियमको उल्लंघन भएको स्वीकार गरे। र्यालीमा व्यापक ट्राफिक नियमका उल्लंघन भएपछि ट्राफिक प्रहरी व्यापक परिचालन गरी कडाई गरिएको बताए।
नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले आफूहरुले ट्राफिक नियम पालना गर्न भन्दा भन्दै पनि कति पय क्षेत्रबाट कार्यकर्ताहरु स्वतः स्फूर्त रुपमा र्यालीमा आउँदा ट्राफिक नियम उल्लंघनका घटना भएको स्वीकार गरे। तथापि उनले पछिल्लो समय विजयी उत्सव गर्दा सम्यम भएर गर्न निर्देशन दिएको बताए।