मदिराको नशामा युवकको हत्या, २ जना पक्राउ


 



काठमाडौंको नयाँ बजारमा ३५ वर्षका कान्छा लामा ‘जीवन’ को हत्या भयो । वैशाख २८ मा नयाँ बजारको विष्णुमति पुल नजिकै रहेको ४० वर्षीया गायत्री नगरकोटीको डेरामा हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि विष्णुमति खोलामा फालिएको उनको शव जेठ ५ मा दक्षिणकाली नगरपालिका–१ स्थित पावर हाउस नजिक फेला परेको थियो । मूलपानी बस्दै आएका कान्छा लामा सिन्धुपाल्चोक जुगलका स्थानीय हुन्।

 




हत्यामा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपलिका–६ घर भएकी ४० वर्षीया गायत्री नगरकोटी छिन् ।

 

कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर घर भएका दिपक वाइवा तामाङ मिलेर ‘जीवन’को हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

 

मदिरा सेवन गर्दा विवाद हुँदा ३ जना मिलेर उनको हत्या गरेको थाहा भएको छ । गायत्री नगरकोटीलाई गलत नजरले हेरेको निहुँमा ‘जीवन’ लाई आक्रमण गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् ।

 

टाउकोमा हम्मरले हानेर हत्या गरेपछि म्याट्रिस र तन्नाले बेरेर उनीहरुले जीवनको शव विष्णुमती खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न मध्येका दिपक वाइवा तामाङ फरार छन् ।  ।

 



सम्बन्धित
Loading...