मनोज पाण्डेविरुद्ध ‘मानव बेचविखन’ कसुरमा अदालतबाट पीडितको बयान प्रमाणित

नाबालिकले पनि दिइन जाहेरी


 



सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ ।

 

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । बयान प्रमाणित भएसँगै आरोपीलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 




पीडित युवतीले दिएको जाहेरी दर्ता भैसकेको छैन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका  पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेको थियो । पाण्डेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी नाबालिकले पनि जाहेरी दिएकी छन् । पाण्डेले ‘यौन दुर्व्यवहार’ गरेको आरोप लगाएर नाबालिकले जाहेरी दिएकी हुन् ।

 

 



सम्बन्धित
Loading...