बिहेको कुरामा सौगात भन्छन् : पहिला काजीको बिहे होस् अनि म गर्छु


अभिनेता सौगात मल्ल अभिनीत नयाँ फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । मल्टीप्लेक्सहरुमा आक्रामक बुकिङ भइरहेको यो फिल्मले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने निश्चित छ । फिल्मले बम्पर ओपनिङ गर्ने भएपछि सौगात पनि उत्साहित देखिएका छन् । एकपछि अर्को फिल्म असफल भइरहेको अवस्थामा उनलाई यो फिल्मले ठूलो राहत दिने देखिन्छ ।



ट्रेलरमा सौगातलाई काजी उर्फ दयाहाङ राईको प्रेममा तगारो बनेको देखाइएको छ । दोस्रो सिरिजमा मैयाँलाई भगाएका उनले यसपटक पनि काजीको बिहे हुन नदिने आँकलन ट्रेलरबाट गर्न सकिन्छ । तर, ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले काजीको बिहे हुने आश पनि गरिएको छ । सौगात पनि काजीको तड्पाई हेर्दा यसपटक बिहे होस् भन्ने आफूले पनि चाहेको बताउँछन् ।

बिहीवार एक कार्यक्रममा उनले भने- ‘दर्शक भएर हेर्दा काजीको तड्पाईंले मलाई पनि छट्पटि हुन्छ । काजीको पीडा देख्दा दया लाग्छ । म पनि चाहन्छु कि अब चाहिँ काजीको बिहे होस् । काजीको बिहे भयो भने दर्शकहरु जस्तै म पनि खुशी हुनेछु । ‘कबड्डी ४’मा काजीको बिहे हुन्छ कि हुँदैन त्यो चाहिँ मैले बिर्सिसकेँ । म पनि काजीको बिहे हुन्छ कि हुँदैन भनेर हेर्न एकदमै आतुर छु ।’




उनले काजीको बिहे भएपछि आफूले बिहे गर्ने पनि बताए । अभिनेत्री सृष्टि श्रेष्ठसँँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले ठट्यौली शैलीमा भने- ‘पर्दामा काजीको बिहे हुन सकेको छैन । यसपटक चाहिँ काजीको बिहे भयो भने म पनि बिहे गर्छु ।’ उनले आफ्ना अघिल्ला फिल्महरु राम्रो चल्न नसकेको स्वीकार गर्दै ‘कबड्डी ४’को व्यापारले आफ्नो करिअरमा ठूलो अर्थ राख्ने बताए ।

 



सम्बन्धित
Loading...