ब्रेकिङ्ग न्यूज; थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन


 



प्रतिकुल मौसमका कारण तारा एयरको हवाइजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन ।

 




‘त्यहाँको खोंचमा सर्भाइभल छ कि भनेर खोज्ने प्रयास भइरहेको छ तर अहिले थप टोली पठाउन सकिएको छैन’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तीन पटकसम्म गरिएको प्रयास असफल भएर हेलिकोप्टर डाइभर्ट भएको छ ।’

 

अहिले कोभाङमा कैलाश र डाइनस्ट्री एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको जुलियट रोमियो नामक हेलिकोप्टर पनि तैनाथ छ ।

 

हालै नेपाली सेनाको हेलिकोप्टरले ११ हजार फिटको उचाइमा १५ जनाको फौजलाई उतारेको छ । उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।

 

दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई पटकमा उक्त हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको अधिकारीहरू बताउँछन् ।

 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन सम्भव देखिएको छैन । त्यसैले सानो हेलिकोप्टरबाट पठाउने प्रयास जारी छ । उनले अनलाइनखबरसँग भने, ‘अहिले माथि भएको टोलीले शव संकलनको कार्य गरिरहेको छ ।’

 

शवलाई संकलन गरेर सिधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याउने तयारी छ ।

 

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जहाजमा सवार २२ जनाकै मृत्यु भएको आशंका गरिएको अनलाइनखबरलाई बताए । ‘परिस्थिति हेर्दा पनि कोही जीवित भएजस्तो देखिन्न, यद्यपि आधिकारिक विवरण आउन केही समय लाग्छ’ उनले भने ।

 

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

 

सोमबार बिहान यार्सागुम्बा संकलन गर्ने किसानले दुर्घटनाग्रस्त जहाजको अवशेष फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएका थिए ।

 

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

 



सम्बन्धित
Loading...