यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।
उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको थियो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार दिउँसो दुई बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी साविक दैलेख हाल कोहलपुर नगरपालिका– ११ बाँके घर भई २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । २०७७ सालदेखि जिल्ला प्रहरी कार्यालय मुगु र सो अन्तर्गतका कार्यालयहरूमा कार्यरत थिए ।