मध्यविन्दुका नगर प्रमुख अधिकारीद्वारा नारायणी नदी तटीय क्षेत्रको अनुगमन




नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नारायणी नदी तटीय क्षेत्रमा भईरहेको तटबन्ध कार्यको स्थलगत अनुगमन गरेका छन् ।

 

नारायणी नदीबाट कटानको जोखिमा रहेको स्थानमा अहिले नारायणी तटबन्ध परियोजना चितवन मार्फत तटबन्धन निर्माणको काम भइरहेको छ । वर्षायाम शुरुवात हुन लग्दा समेत निर्माणको कामले गति नलिएको भन्दै स्थानीयले गुनासो गरेपनि नगर प्रमुख अधिकारी सहितको टोलिले मध्यविन्दु–२ को नन्दपुर र सिहेरी भुत्ताह क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको स्थलगत अनुगमन गरेका हुन् ।

 




स्थलगत अनुगमनको क्रममा नगर प्रमुख अधिकारीले ठेक्केदार कम्पनीले तटबन्ध निर्माणमा गरिहेको ढिलाईको कारणबारे कम्पनीको प्रतिनिधिसंग जानकारी लिएका थिए । ठेक्का सम्झौता अनुसार कार्य सम्पन्न गर्न निर्देशन दिदै नगर प्रमुख अधिकारीले परियोजनाको कार्यालयमा यस बारेमा थप समन्वय गर्ने बताए ।

 

अनुगमनको क्रममा स्थानीयले नारायणी नदीको सतह बढ्न शुरु भएको भन्दै तत्काल तटबन्धको काम सम्पन्न नभए नन्दपुर भुताहा क्षेत्रको बस्ती कटान तथा डुवानको जोखिम बढेको बताएका थिए । नारायणी नदीले वर्षेनी गर्ने कटानको दीर्घकालिन नियन्त्रणाका लागि संघिय सरकारसंग आवश्यक बजेटको लागि समन्वय गर्न समेत उनिहरुले नगर प्रमुख अधिकारीलाई अनुरोध गरेका थिए ।

 

मध्यविन्दु–२ का वडा अध्यक्ष रामभक्त अधिकारीले नदी र निकुञ्जको कारण यस क्षेत्रका स्थानीय सधै पीडित हुनु परेको भन्दै तटबन्धको लागि केन्द्रीय सरकार र वन्यजन्तु नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जमा पहल गरिरहेको बताए ।

यस वर्ष भुत्ताह क्षेत्रमा कटान तथा डुवानको उच्च जोखिम रहेको भन्दै त्यहाँ बसोबास गर्ने स्थानीयलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा नगर प्रमुख अधिकारीले ध्यानाकर्षण समेत गराएका थिए ।

 

मध्यविन्दु नगरपालिकाको ब्रह्मस्थान देखि भुपु–वगुवन सिमाना सम्म नारायणी नदीले क्षति पु¥याउने गरेको भन्दै नगर प्रमुख अधिकारीले स्थानीयको गुनासो सम्बोधनको लागि आफु प्रतिबद्ध रहेको बताए ।

 

अनुगमन कार्यक्रममा मध्यविन्दु–२ का निर्वाचित जनप्रतिनिधि, मध्यविन्दु–७ का पूर्व वडा अध्यक्ष अमृत ज्ञवाली सहितको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...