घुम्न लैजाने बाहानामा बालिका बलात्कार गर्नेलाई कारवाही गर्न विद्यार्थीको माग

नवलपुर । अखिल क्रान्तिकारी गैँडाकोटले कालिका टेक्निकल कलेजमा यौनजन्य हिंसा भएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
गैँडाकोट ५ स्थित कलेजमा भएको घटनाका दोषीलाई कारवाही नभए सशक्त रुपमा सडक संघर्ष लगायतका आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गैँडाकोट नगर समितिका अध्यक्ष सुशिल पौडेल र सचिव विशद उपाध्यायद्वारा जारी विज्ञप्तीमा घटना लुकाउने, ढाकछोप गर्ने प्रयास भएमा आन्दोलन गर्ने चेतावनी दिईएको हो ।
विद्यार्थी संगठनले कलेजमा घृणित क्रियाकलाप देखिएको भन्दै चिन्ता व्यक्त गर्नुका साथै घटनाको घोर भत्र्सना गरेको छ ।
कलेजका सञ्चालक शिव काफ्लेले गुल्मी घर भई सोही कलेजमा अध्यनरत नाबालिकालाई प्रलोभन देखाई माघ १९ गते भरतपुर–१६ शिवघाटको एक रिसोर्टमा लगेर करणी गरेको भन्दै उनीमाथी मुद्दा दायर भएको छ ।
बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले काफ्लेलाई नियन्त्रणमा लिएको थियो ।
जबरजस्ती करणीको अरोपमा पक्राउ परेका काफ्लेलार्ई जिल्ला अदालत चितवनले पुर्पक्षका लागी थुनामा कारागार पठाउने आदेश दिएको छ ।
