नवलपुरमा ७ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।
नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत २ सय ८३ जना विद्यार्थीहरुलाई आज सफा सुनौलो नेपाल संस्थाको सहयोगमा प्रतिविद्यार्थी २ हजार बराबरका शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले बताए ।
सफा सुनौलो नेपाल संस्थाले हाल सम्म मध्यविन्दु नगरपालिका भित्रका ७ हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका फिल्ड कोर्डिनेटर कृष्ण ढकालले बताए ।

आज शान्ति आधारभूत विद्यालयका २८३ जना बालबालिकालाई झोला, कापी, कलम लगायतका सामग्रीहरु प्रतिव्यक्ति २ हजारको दरले वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरणसँगै विद्यालयले नवनिर्वाचत जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिमान खड्काको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा मध्यविन्दु १ का वडाध्यक्ष तिलकराम न्यौपाने, संस्थाका फिल्ड कोर्डिनेटर कृष्णप्रसाद ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षक अमृसप्रसाद चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
