यार्सा टिप्ने क्रममा लेक लागेर मुगुमा एक सातामा २ जनाको मृत्यु
मुगु — मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक साता नबित्दै दुई जनाको ज्यान गएको छ ।
माग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत १६ वर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको छ । उनको स्थायी घर महगाउँ हो ।
टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने उनको ज्यान गएको मुगुम कार्मारोङ गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष शशांक लामाले जानकारी दिए ।
गत बुधबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकीमा लेक लागेर मृत्यु भएको थियो । समुद्री सतहदेखि करिव ४५ सय देखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा स्थानीय यार्सा संकलन गर्न जाँदा ज्यानको उच्च जोखिम हुने गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी गराए ।
औषधिसहित चिकित्सकको टोली यार्सा क्षेत्रमा खटाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।