श्रीमानबाट धोका पाएकी मीना अटो चलाएरै परिवार पाल्दै




 

परिवर्तन गाउँपालिका ५ राङ्गकोट घर भई शारदा नगरपालिका १० पैयाखर्क बस्दै आएका पुर्णबहादुर पुनले अर्की श्रीमती विवाह गरेर घर छाडेर भागेपछि उनकी जेठी श्रीमती ३४ वर्षीय मीना पुन सहाराविहीन भएकी थिइन् । 




 

कमाइ गर्ने एकमात्र श्रीमान् अर्की श्रीमती लिएर भागेपछि उनलाई एक छोरा, दुई छोरी र आफू गरी चार जनाको परिवारलाई लालनपालन गर्न धेरै कठिनाइ भएको थियो ।

 

मजदुरी गर्न खोज्दा सहज रुपमा उनले काम पाउन सकेकी थिइनन् । कक्षा ५ सम्म मात्र पढेकाले कतै रोजगारी पाउनेमा उनी ढुक्क थिइनन् तर दैनिक जीविकोपार्जन गर्न कठिनाइ भए पनि उनले हार मानेकी थिइनन् ।

 

केही गरेर आफ्ना छोराछोरी जसरी भए पनि पाल्न सक्छु भन्ने अठोटका साथ उनले एक वर्षअघि १० दिन दुईवर्षे बालकलाई काखी च्यापेर शारदा नगरपालिका १ श्रीनगरमा आई अटो चलाउन सिकेकी थिइन् ।

 

त्यहि अटो अहिले उनका लागि जीविकोपार्जनको लागि राम्रो माध्यम बनेको छ । अटो चलाएर उनले तीन छोराछारी र आफूसहित चार जनाको परिवार सजिलै पाल्दै आएकी छन् ।

 

अटो चलाएर अटोको मर्मत, तेल खर्च कटाएर उनले दैनिक २५ सयसम्म कमाउने गरेकी छन् । अटो चलाएर कमाएको रकमबाट उनले आफ्ना सन्तानलाई राम्रो विद्यालयमा पढाउन थालेकी छन् । वैदेशिक रोजगारीमा जाने बहानामा श्रीमान्‌ले स्थानीय साहुसँग लिएको चार लाख रुपैयाँ ऋणसमेत उनले अटो चलाएर कमाएको पैसाले तिरिसकेकी छन् ।

 

ईच्छाशक्ति भएपछि पुरुषले मात्र नभई महिलाले पनि केही गरेर आफ्नो र परिवारको लालनपालन गर्न सक्छन्; सधैं श्रीमानको मात्रै भर पर्नु पर्दैन भन्ने उदाहरण बनेकी छन् उनी ।

 

‘घरको कामदेखि बाहिरको सबै काम आफैंले गर्नुपर्छ । त्यतिमात्रै नभएर अन्य समस्या पनि आइलाग्छन्; तर के गर्नु बच्चाबच्चीको लालनपालनका लागि पनि नगरी नहुने बाध्यता छ‚’ उनले भनिन्‚ ‘म चाहन्थें श्रीमान्‌ले सबै खालका व्यवस्था मिलाऊन् तर के गर्नु सबै सोचेअनुसार कहाँ हुन्छ र ! नसोचेको काम पनि गर्नु पर्दो रहेछ ।’

 



सम्बन्धित
Loading...