हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव
हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव
प्रिय धन , नवलपुर –
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव देखिएको छ । देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरण हुने पानी बर्षा याममा खोलामा बगेको पानी जत्तिकै धमिलो छ ।
बैशाखको अन्तिम साता देखि न धारामा पानी नियमित छ , न त सफा नै , हुप्सेकोट २ कोलियाका चेतन रानाले भन्नुभयो ।
नेकपा एमाले हुप्सेकोटका अध्यक्ष समेत रहनुभएका रानाले जनताको स्वास्थ्यप्रति खेलवाड गरिनु उचित नभएको टिप्पणी गर्नुभएको छ ।
रानाले अहिलेको समयमा पिउनेपानीको वैकल्पिक उपायको खोजि गरिनुपर्नेमा नव समिति जिम्मेवार नबनेको आरोप लगाउनुभएको छ ।
सामाजिक संजालमार्फत देऊराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरुले चौतर्फी बिरोध गरेका छन् । थुम्कीदेवी सामुदायिक वन उपभोकता समूह कोलियाका अध्यक्ष समेत रहनु भएका युवराज पाण्डेले खानेपानीको बिकल्प सहितको योजना ल्याउनुपर्ने भन्दै सामाजिक संजाल फेसबुकमार्फ़त संस्थाको ध्यानाकर्षण गराउनुभएको छ ।
उता खानेपानी संस्थाका अध्यक्ष ओमन सिंह रजालीले भने बर्षात को समयमा बारम्बार पहिरो गएका कारण पानी धमिलो भएको तथा नियमित हुन नसकेको स्वीकार्नुभयो ।
देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोकता संस्थामा हुप्सेकोट १, २ ,३ र ४ का करिब ३६०० घरधुरीका परिवार आबद्ध छन् । हाल सो संस्था झण्डै ८० करोडको लगानीमा सहरी योजनामा प्रवेश गरेको हो । पाईप बिछ्याउनेकाम भन्दा बाहेक अरु देखिने काम भने भएको छैन ।
