‘अधुरा काम गर्न भनेरै जनताले दोस्रो कार्यकालमा पनि रोजे’

यसपालिको स्थानीय चुनावमा जम्मा २५ जना महिला पालिका अध्यक्ष भएका छन् । यसै क्रममा पूर्वी नवलपरासी हुप्सीकोट गाउँपालिकामा नेपाली काँग्रेसबाट लक्ष्मी पाण्डे दोस्रोपटक अध्यक्ष निर्वाचित भएकी छिन् ।
दोस्रो पटक पनि चुनिएपछि उनको बुझाइ छ, चित्तबुझ्दो काम गरे निर्वाचनमा विजयी हुन कसैले रोक्न सक्तैन । धेरै स्थानीय तहमा दोहोरिएर प्रतिनिधि आउन नसक्नुमा जनतालाई खुसी र सन्तुष्ट बनाउन नसक्नु कारक रहेको उनको जिकिर छ ।
प्रस्तुत छ, पहिलो कार्यकालको समीक्षा र आगामी कार्यकालको योजना बारेमा केन्द्रीत रही अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीः
तपाईंलाई त पैसा खर्च गरेर चुनाव जितेको आरोप छ नि ?
चुनाव पैसाले जितेको होइन, जनताको मन जितेर आएको हुँ । नागरिकप्रति उत्तरदायी भएकै कारणले दोस्रोपटक पनि मलाई जिताएका हुन् । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको प्रतिपक्ष हुनु हो ।
पक्ष र विपक्ष भएपछि हार र जित हुन्छ । खेलमैदानमा एक पक्षको जित हुनु स्वभाविक हो । पराजित भएपछि विभिन्न आरोप लगाउनुलाई पनि मैले नराम्रो मानेको छैन । तर मनगढन्ते आरोप लगाएर हुँदैन, पुष्टि गर्न सक्नुपर्छ । चुनावमा पैसा खर्च हुनु स्वभाविक हो ।
तर निर्वाचन आयोगको आचारसंहिता वा उसले ताकेको भन्दा बाहिर खर्च गरेको छैन । संहिता विपरीत मैले खर्च गरेको आरोप हो भने त्यसको प्रमाण पेश गरुन्, सजाय भोग्न तयार छु । गलत ठाउँमा पैसा खर्च गर्न हुन्न भन्ने कुरामा म आफू प्रतिबद्ध छु । राजस्वको दुरुपयोग गर्न हुन्न भन्नेमा सधैं सचेत छु ।
गाउँपालिकाको लागि आफैले छुट्याएको बजेट अघिल्लो कार्यकालमा किन फ्रिज भयो ?
कतिपय कानुनले बर्जित गरेका कुरा तथा माथिबाट आएका बजेट अप्ठ्यारो कार्यविधि भएका कारण खर्च हुन नसकेको हो । तर धेरै बजेट खर्च गर्नेमा हुप्सीकोट गाउँपालिका नै पर्छ । गण्डकी प्रदेशको तथ्याङ्क हेर्नुस्, सबैभन्दा धेरै खर्च हाम्रो पालिकाले गरेको छ ।
राजस्व जोगाउने र भएको बजेटलाई छिटो खर्च गरेर विनियोजन गरेको बजेट सही समयमा खर्च गरिएको छ । कोरोना महामारीमा नागरिकको स्वाथ्य तलमाथि हुन्छ कि भनेर दिनरात नभनी हामी खटिएका हौं । त्यस्तै, प्राकृतिक प्रकोपमा परेकालाई उद्धार तथा क्षतिपूर्तिमा कत्ति पनि ढिलाइ गरिएको छैन ।
आफ्नो पहिलो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?
पहिलो कार्यकाल संघीयताको पहिलो अभ्यास थियो । संघीयतामा अनुभवी कोही थिएन । धेरै अन्यौल थियो तर त्यसका बावजुद पनि पनि हामीले उल्लेखनीय काम गर्यौं ।
सुत्केरीलाई ५ हजार भत्ता, महिला सीप विकास कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आँखा अस्पताल तथा आयुर्वेदिक अस्पताल सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै, खानेपानी व्यवस्थापन, पहिरो प्रभावितलाई अस्थायी आवास निर्माण, कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने नीति, सिटीइभिटीको साझेदारीमा नेपालमै सस्तो प्राविधिक शिक्षा प्रदान गर्ने हुप्सेकोट प्राविधिक शिक्षालयको स्थापना गरिएको छ ।
१५ करोडको लागतमा पहिलो पटक बिजुली, कोरला–पोखरा–त्रिवेणी सडक मार्ग डेढगाउँ–झ्यालबाँस सडक खण्डको शिलान्यास भैसकेको छ । कोरोनाले दुइ वर्षसम्म काम गर्न सक्ने खासै वातावरण भएन ।
आफ्ना नागरिकका रक्षा गर्नु नै पहिलो प्राथमितामा राखेर काम गर्यौं । पहिलो कार्यकालमा राम्रा कामका जग बसालेका छौ । ती अधुरा काम सम्पन्न गर्ने र नयाँ काम गर्ने योजनाअनुरुप हामी अगाडि बढेका छौं ।
दोस्रो कार्यकालको आगामी योजना के के छन् ?
पहिलो कार्यकालमा अधुरा काम समयाभावकै कारणले पुरा गर्न नसकेको भनेरै यहाँको जनताले दोस्रो कार्यकालमा पनि मलाई नै रोजेका छन् । पुनः प्रतिनिधि भएर आएपछि मेरो कर्तव्य भनेको सबैको लागि सम्मानपूर्वक काम गर्ने हो ।
यहाँको विकास निर्माणमा विभेद नगर्ने, सबैलाई समेटेर जान्छु । मैले आफ्नो कर्मलाई निष्पक्षताका साथ पुरा गर्नेछु । सबैले अपनत्व अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्छु । मेरो विवेक र ब्रह्मले भ्याएसम्म प्रतिपक्ष भनेर भेदभाव गर्ने छैन । कसैलाई काखा र पाखा गर्ने छैन ।
राम्रो काम सम्पन्न गर्न पर्याप्त समयको आवश्यकता पर्छ । पाँच वर्षमा गाउँपालिकाको लागि जति काम गर्ने उद्देश्य बनाइएको थियो, सबै पुरा गर्न सकिएको छैन । शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधारहरुको जग बसालेका छौं ।
अब बाँकी निमार्ण कार्य सम्पन्न गर्ने र नयाँ थप योजना बनाएर जाने लक्ष्य राखेका छौं । दोस्रोपटक पनि मलाई जुन अपेक्षा लिएर मतदाताले भोट दिनुभएको छ, त्यसको कदर गर्दै स्थानीयको सेवामा आफूलाई खटाउने प्रतिबद्धता जाहेर गर्दछु ।