९ जनाको ज्यान गएको रूपन्देही बस दुर्घटना : कसरी खस्यो बस पुल बाट घटना बारे यसो भन्छन् चालक
रूपन्देहीको ओमसतिया–५ मटेरियाका ७० वर्षीय राजेन्द्र पाण्डे ५ मिनेटको सवारी दूरी र ५ मिनेटको पैदल यात्रा पार गरेपछि घर पुग्थे ।
उनी सवार लु२ख ३८४१ नम्बरको बस तीव्र गतिमा हुइँकिरहेकै थियो । ५ मिनेटपछि रोहिणी गाउँपालिकाको वसन्तपुर चोकमा बस रोकिन्थ्यो । पाण्डे बसबाट झर्थे र थप ५ मिनेट पैदल हिँडेर घर पुग्थे । तर, दुर्भाग्य ! उनले त्यो अवसर आइतबार बिहान सदाका लागि गुमाए ।
पाण्डे झर्न रोकिनुपर्ने वसन्तपुर चोक आउनु झन्डै ५ मिनेटअघि नै बसले परासी–भैरहवा सडक छोड्यो । रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानामा पर्ने रोहिणी खोलाको पुलमा बनेको फलामे रेलिङ भाँच्दै खोलामा खस्यो ।
बिहान साढे ४ बजेतिर खोलामा बस खस्दा ९ जनाको मृत्यु भयो । मृत्यु हुनेमध्येका पाण्डे एक हुन् । १५ दिनअघि अध्ययनका लागि काठमाडौंमा रहेकी ठूलो छोराकी छोरी (नातिनी) भेट्न उनी काठमाडौं गएका थिए । नातिनीलाई भेटेर उनी शुक्रबार डाक्टर पढिरहेका नाति भेट्न जनकपुर पुगेका थिए । नातिलाई भेटेपछि जनकपुरबाटै भैरहवा आउने बस चढेका उनले दुर्घटनामा परेर ज्यान गुमाए ।
ठूला छोरा सञ्जयलाई उनले मोबाइलमा बेलाबेला आफू आइपुगेको स्थानको जानकारी दिँदै आएका थिए । घर पुग्नु केही बेरअघि दुर्घटना भयो । घटनापछि मृतक तथा घाइतेलाई अस्पताल पुर्याइएको थियो । भैरहवाको भीम अस्पतालबाट पाण्डेका आफन्तलाई फोन गयो । ‘पहिचानका लागि आउनुपर्यो, तपाईंको आफन्त हुन सक्छन् भन्ने फोन आएपछि म अस्पताल पुगिहालें,’ मृतक पाण्डेका दाजुका छोरा श्रवणले भने, ‘अस्पताल पुग्दा काकाको मृत्यु भइसकेको रहेछ ।’ दिवंगत पाण्डे गाउँका परिचित सामाजिक व्यक्तित्व थिए । उनका दुई छोरा र एक छोरी छन् । पाण्डेको मृत्युपछि गाउँ नै शोकमग्न छ ।
बसमा नारायणगढदेखि चढेका बुटवल–११ का कृष्ण बस्यालले पनि ज्यान गुमाए । हार्डवेयर व्यवसायी बस्याल तीन दिनअघि प्लेनमा काठमाडौं गएका थिए । तर, फर्किने बेलामा भाउजूलाई पनि सँगै ल्याउनुपरेकाले बस चढेर आएका थिए । नारायणगढ आउँदा काठमाडौंबाट आएको बस बिग्रियो ।
त्यसपछि दुवै जना जनकपुरबाट आएको बस चढेका थिए । दुर्घटनामा देवर–भाउजू दुवैको मृत्यु भएको छ । बस्यालको घरमा आफ्नै पनि सवारीसाधन थियो । उनकी भाउजू ३७ वर्षीया तुलसी बस्याल उच्च शिक्षा अध्ययनका लागि छोरीलाई अस्ट्रेलिया पठाउने भन्दै कागजात बनाउन काठमाडौं गएकी थिइन् ।
चार दिनअघि छोरीसँगै गएकी तुलसी शनिबार साँझ काठमाडौंबाट फर्कंदै थिइन । शनिबार दिउँसो परिवारसँग कुरा हुँदा छोरीको अस्ट्रेलिया जाने प्रक्रिया पूरा भएपछि मात्रै घर आउन उनलाई परिवारले सुझाएका थिए । तर, केही दिन ढिलो हुने भएपछि उनी छोरीलाई काठमाडौं छाडेर शनिबार साँझ नै घर आउन बस चढेकी थिइन् ।
बसमा सवार ३२ यात्रुमध्ये अधिकांश निदाएका थिए । उनीहरूको निद्रासँगै बस पुल भत्काउँदै खोलामा खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका अनुसार जनकपुरबाट २० जना यात्रु लिएर भैरहवाका लागि हिँडेको बसमा हेटौंडा र नारायणगढबाट यात्रु थपिएका थिए । नारायणगढमा काठमाडौंबाट आएको अर्को एउटा बसले आफ्नो बसमा रहेका भैरहवा आउने यात्रुलाई उक्त बसमा सिफ्ट गराएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशव केसीले दुर्घटनाको कारण यकिन भइनसकेको बताए । ‘तीव्र गति र चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘थप घाइते यात्रुसँग बुझ्दै छौं ।’ बस पुलको विपरीत दिशातर्फ गएर खोलामा खसेकाले चालक निदाएको आशंका भएको उनले बताए । बसचालक तिलोत्तमा–३ का ३६ वर्षीय सुमन अर्यालले बस पुलमा आएपछि विपरीत दिशाबाट सानो गाडी (ट्याक्सी) ले लाइट डिम नगरेको र ट्याक्सीलाई बचाउन स्टेरिङ घुमाउने क्रममा अनियन्त्रित भएर पुलबाट खसेको बताए ।