मन्त्री हेरफेरको निर्णयले एसभित्र विवाद, देउवाले पनि दिएनन् सहमति…!

मन्त्री हेरफेर गर्न गरेको निर्णयले एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । छापामार शैलीमा हेरफेर गर्ने निर्णय गरेपछि मन्त्रीहरु नै फिर्ता हुन अस्वीकार गरेका छन् । मन्त्रीहरुले फिर्ता हुन अरुची देखाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हेरफेरको निर्णयप्रति असहमति जनाएको बुझिएको छ ।
बालुवाटार स्रोतले बताएअनुसार आइतबार प्रधानमन्त्री देउवा र एसका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो । आइतबार देउवासँगको छलफल पछि अध्यक्ष नेपालले मन्त्री हेरफेरको निर्णय गरेका थिए ।
तर, मन्त्रीहरुले नै छापामार शैलीको निर्णय भन्दै असहमति जनाएपछि देउवाले सोमबार बिहान सत्तागठबन्धनको बैठक बोलाएर तत्काल हेरफेर नगर्न अध्यक्ष नेपाललाई सुझाएका थिए । उनले बजेट पारितमै संकट आउनसक्ने भन्दै मन्त्री हेरफेर गर्न नसकिने स्पष्ट पारेको बुझिएको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडा बजेट अधिवेशन चलिरहेकै बखत मन्त्री फिर्ता बोलाउने पार्टी निर्णय गैरजिम्मेवार भन्दै विरोधमै उत्रिएका छन् । आफुँहरु पनि जिम्मेवार पार्टी सदस्य भएको भन्दै उनले सामान्य छलफल पनि नगरी निर्णय गर्नु आपत्तिजनक भएको बताएका छन् । उनीसँगै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पार्टी निर्णय अस्वभाविक भएको भन्दै विरोध जनाएकी छिन् ।
यता, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीसँग सामान्य छलफल पनि नगरी फिर्ता बोलाउने निर्णय अस्वभाविक भनि विरोध जनाएका छन् ।
सरकार नै संकटमा पर्न सक्ने
नेकपा (एस)को संसदीय दलभित्र हाल मन्त्री रहेका नेता र उनीहरु निकटको बाहुल्यता छ । यदि विरोधकै बीच उनीहरुलाई हटाइए पार्टी नै विभाजन हुनसक्ने सम्भावना रहेको बताइन्छ ।
प्रतिनिधिसभामा २३ सांसद रहेको एसमा आधाजसो सांसद प्रेम आले र कृष्णकुमार श्रेष्ठ पक्षका छन् ।
खतिवडा, झाँक्रीलगायतको पक्षमा पनि धेरै सांसदहरुको उपस्थिति छ । यस्तोमा असहमतिकै बाबजुद मन्त्री हेरफेर गर्ने विभाजन हुने सम्भावना देखिन्छ ।
प्रधानमन्त्री देउवाले संसदीय अंकगणितलाई मध्यनजर गर्दै हेरफेरको निर्णयबाट पछि हट्न सुझाएको बुझिएको छ ।