झडप, तोडफोड र आगजनीले लमजुङ कृषि क्याम्पस बन्द, होस्टेल खाली

विद्यार्थी भर्नाको विषयमा विद्यार्थी संगठनबीच तोडफोड र आगजनी भएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) अनिश्चितकालका लागि बन्द भएको छ ।
क्याम्पसको आन्तरिक प्रसासनबाहेक भर्ना प्रक्रिया, पठनपाठन, परीक्षा फारम भर्ने कार्यक्रमलगायत पठनपाठनसँग सम्बन्धित सवै कार्यक्रम बन्द गरिएका छन् । बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई आफ्नो बनाउने होडमा हरेक वर्षजसो क्याम्पसमा झगडा हुँदै आएको छ ।
बीएससीएजी पहिलो सत्रान्तको भर्ना खुला गरिएकोमा बाहिरबाट आएका विद्यार्थीलाई तानातान गर्ने क्रममा एमाले निकट अनेरास्ववियू र कांग्रेस निकट नेविसंघका विद्यार्थीबीच झगडा भएको थियो । आइतबारबाट झगडा भएकोमा मंगलबार झडप, तोडफोड र आगजनी भएपछि क्याम्पस प्रशासनले भर्ना र पठनपाठनका कार्यक्रम रोकेर क्याम्पस बन्द गराएको छ ।
क्याम्पस प्रमुख डा. नारायण न्यौपानेले क्याम्पसमा विद्यार्थीबीच उत्पन्न असमझदारीका कारण भएका पटक–पटकका झडप, तोडफोड तथा आगजनीलगायतका असहज परिस्थितिले दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने अवस्था नदेखिएपछि क्याम्पस बन्द गर्न बाध्य भएको बताए ।
उनले एक सूचना जारी गरी छात्रावासमा विद्यार्थीको आवतजावत सहज हुन नसकेको र थप जटिल परिस्थिति उत्पन्न भएकाले परिस्थिति नियन्त्रणबाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि क्याम्पसका सम्पूर्ण शैक्षिक क्रियाकलाप बन्द गर्ने सूचना बुधबार जारी गरेको छ ।
सूचनामा महिला र पुरुष दुवैका छात्रावास बिहीबार दिउँसो १ बजेसम्ममा खाली गर्ने निर्णय गरेको जनाएको छ । क्याम्पसको छात्रावासमा डेढसय बढी विद्यार्थी बसेर अध्ययन गर्दै आएका छन् ।
क्याम्पसका अनुसार कृषि स्नातक तह पुन: परीक्षा छैठौं सत्रान्त, दोश्रो र सातौं सत्रान्ततर्फ नियमितको परीक्षा फारम भर्ने समय तालिका जेठ २५ गते बुधबार र जेठ ३० गतेसम्म अन्तिम समय तालिका दिइएकोमा विद्यार्थीबीच उत्पन्न असहज परिस्थितिका कारण अर्को सूचना नआएसम्म डिन कार्यालयबाट अर्को आदेश नआएसम्म स्थगित गरिएको छ ।
कृषि क्याम्पसले हरेक बर्ष नियमित तथा अतिरिक्त कार्यक्रम अन्तर्गत भर्ना लिने गर्छ । डिनको कार्यालयले प्रवेश परीक्षा लिएपछि मेरिट लिष्टको आधारमा लमजुङ क्याम्पसले ५० जना विद्यार्थीलाई भर्ना गर्छ । नियमित कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थी भर्ना भइसकेको र अतिरिक्ततर्फ ३० जना विद्यार्थी भर्ना हुँदै गर्दा विद्यार्थी संगठनबीच विद्यार्थीलाई तानातान हुँदा झगडा भएको क्याम्पस प्रशासनले जनाएको छ ।
बीएससीएजीको पहिलो सत्रान्तको भर्नामा अतिरिक्त कोटा अन्तर्गत सुन्दरबजारका १ जना र लमजुङका २ जनाले भर्ना पाउँछन् । कूल १ सय ३ जना भर्ना हुने क्याम्पसमा अब अतिरिक्तका २० जना, सुन्दरबजारका १ र जिल्लाका ३ जना गरी २३ जना विद्यार्थी भर्ना हुन बाँकी छ । नयाँ आउने विद्यार्थीका लागि अनलाइन भर्ना लिने व्यवस्था मिलाएको क्याम्पस प्रमुख डा. न्यौपानेले बताए ।