जिसस नवलपुर गठन : निर्वाचन कार्यतालिका शुक्रबार आउने

कावासोती । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अब जिल्ला समन्वय समिति गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ । नवलपुरमा जिल्ला सभाले जिल्ला समन्वय समितिमा ९ जना सदस्य रहने निर्णय गरि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएसँगै जिसस गठनको प्रक्रिया अगाडि बढ्न लागेको हो ।
जिल्ला समन्वय समितिमा घटिमा ६ जना र बढीमा ९ जना रहन सक्ने प्रावधान रहेको छ । सोही अनुसार जिल्ला सभाले न्यूनतम सङ्ख्यामा तीन जना थपेर ९ सदस्य बनाउने निर्णय गरेको छ ।
सोही अनुसार पत्र प्राप्त भएकाले शुक्रबार जिल्ला समन्वय समितको गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरका सहायक निर्वाचन अधिकृत लाल बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
भोली प्रक्रिया अघि बढे नवलपुरमा केही दिनमा जिल्ला समन्वय समिति गठन हुने छ ।नवलपुरमा जिल्ला समन्वय गठनका लागि ८ पालिकाका प्रमुख , उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि १६ मतदाता रहनेछन् । जिल्ला समन्वय गठनका लागि नवलपुरमा एमालेको बहुमत रहेको छ ।
कुल १६ मत मध्य एमालेको ११ मत रहेको छ । कांग्रेसको ५ मत रहेको छ । यस कारण यहाँ जिल्ला समन्वय एमालेको बन्ने निश्चित रहेको छ । एमालेबाट जिल्ला समन्वय प्रमुखमा बाबुराम विश्वकर्मा, विनयी त्रिवेणीबाट कुल प्रसाद भुसाल लगायतको नाम चर्चामा रहेको छ ।
विश्वकर्मा जिल्ला समन्वय प्रमुखको उम्मेदवार बन्न कावासोतीको कार्यपालिका समितिमा मनोनित हुनु भएको छ । कतिपय वडा अध्यक्षनै जिसस प्रमुख बन्न लबिङ गरिरहेका छन् ।