बेपत्ता भएको २१ वर्षपछि घर

फुलेको सेतो कपाल । सेता दाह्री । टाउकोमा ढाका टोपी । पातलो शरीर । ५२ वर्षका उनी गत आइतबार साँझ लखरलखर स्वरेकको उकालो चढिरहेका थिए । गाउँमा कहिलै नदेखिएको, नयाँ अनुहार । सबैको नजर उनैप्रति थियो ।
लखरलखर उकालो चढ्दै गरेका उनी स्याङ्जाको भीरकोट नगरपालिका–५ का बलराम पाण्डे थिए । हराएको २१ वर्षपछि उनी गाउँ फर्किएका हुन् । उनलाई घर फर्किंदा कसैले चिनेनन् । उनी घरमा नगई सिधै गाउँमा दिदी पर्नेको घर पुगे ।
दिदीभाइको भेटपछि चिनजान भयो । दिदीले हराएको भाइ हो भन्ने पत्ता लगाइन् र उनको छोराछोरीलाई खबर गरिन् । २०५८ मा उनी रोजगारीका लागि भारत गएका थिए । भारतमा नै सरकारी जागिरे उनी त्यसपछि परिवारको सम्पर्कमा आएनन् ।
छोडेर जाँदा आमा, श्रीमती, तीन छोरा र दुई छोरी थिए । फर्किंदा उनले आमा गुमाएका छन् भने नातिनातिना पाएका छन् । परिवारले जीवित छ या छैन, आउँछ या आउँदैन भनेर आस नै गुमाएका पाण्डे एक्कासि घर आउँदा आश्चर्यमा परेकी पत्नी लक्ष्मी सबैभन्दा बढी खुसी देखिन्थिन् ।
भन्छिन्, ‘सिन्दूर हालेर बिहे गरेको श्रीमान् हो । आज संसारकै खुसी छु ।’ जीवितै आउँछ भन्ने आश भने मारिसकेको थियो परिवारले । उनी अहिले परिवारसँगै खुसीका साथ बसेका छन्
बलराम आफ्नो जन्मभूमि बिर्सिनभन्दा पनि घर फर्किन मन नलागेका कारण भारतको राजस्थान बस्दै आएको बताए । ‘उत्तै नोकरी गरे’, उनले भने, ‘आश्रममा बस्दै आएको थियो । मलाई घर फर्किएर आउनै मन लागेन । एक दिन सपनामा एक्कासि घरको याद आयो । परिवार सम्झे । आफू जन्मिए, हुर्किएको गाउँ देखे र भोलिपल्टै घर फर्किए ।’
उनी घर फर्किन मन नलाग्नुको कारण भने भनेनन् । बलरामका दाजु (काकाको छोरा) पीताम्बर पाण्डेले भने, दाइ घर फर्किएर आउने विश्वास रहेको बताए । ‘गत फागुनमा कुलाइनको पूजा गर्दै दाइलाई सम्झिएको थियो,’ उनी रुँदै भन्छन्, ‘कुल देवता दाइलाई घर फर्काइदेऊ म अर्को पटक पूजामा सँगै लिएर आउँछु भनेर भाकल गरे । कुलाइनले दाइलाई घर ल्याइदिनुभयो ।’
हराएको मान्छे जिउँदो रहदासम्म ढिलोचाँडो जसरी पनि घर आउँछ भन्ने विश्वास रहेका उनी बताउँछन् । बलराम अहिले घरमा पनि खुसीका साथ समय बिताएको बताउँछन् ।