गण्डकी प्रदेश बजेट : नवलपुरको फलाम खानीलाई १५ करोड, पर्वतको खानीबारे मौन

गण्डकी प्रदेश सरकारले नवलपुरको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी डाँडामा देशकै सबैभन्दा ठुलो फलामखानी भएको विश्वास गरिएको छ ।
प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा सो रकम विनियोजन भएको घोषणा गरेका हुन् । तर उनले पर्वतको फलामखानीबारे कुनै कुरा उठाएनन् ।
पर्वतको महाशिला गाउँपालिकामा विशाल फलाम खानी रहेको र धेरै वर्ष अगाडि त्यहाँबाट फलाम उत्खनन् गरिन्थ्यो ।
सोही कारण सो गाउँमा विश्वकर्मा समुदायका बसोबास बढी छ । फलामखानी बन्द भएको धेरै वर्षपछि प्रदेश सरकार गठनका क्रममा सो खानीबारे चर्चा गरिए पनि उत्खननका लागि पहल गरिएको थिएन ।
स्थानीय बासिन्दाले सो ठाउँमा रहेको फलाम उत्खनन गर्न माग गर्दै आएका छन् ।