भागी विवाह गर्ने प्रस्ताव राख्दा प्रेमीकाद्वारा नै प्रेमीको हत्या




गत जेठ ११ मा गौरीशंकर गाउँपालिका–३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेत जंगलमा झुन्डिएको अवस्थामा फेला परे । मृत्युको कारण खोतल्दै जाँदा प्रहरीले उनको हत्या गरेर झुन्ड्याइएको निष्कर्ष मात्रै निकालेन, घटनामा प्रेमिका र उनको परिवारकै संलग्नता रहेको तथ्य बाहिर ल्याएको छ ।

 

प्रहरीका अनुसार एक विद्यालयमा लेखापाल रहेका बस्नेत २ वर्षदेखि स्थानीय १९ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा थिए । उनीहरूको सम्बन्ध दुवैका परिवारलाई मान्य नभए पनि बस्नेत निरन्तर किशोरीलाई बिहे गर्न दबाब बढाइरहेका थिए । नजिकको नाता पर्ने भएकाले बिहे भएमा दुवैलाई परिवारबाट बहिष्कार खेप्नुपर्ने डर थियो । यहीबीच पछिल्लोपटक बस्नेतले भागी बिहे गर्न किशोरीसमक्ष आाग्रह गरिरहेका थिए ।

 




‘किशोरीलाई भगाउने उद्देश्य राखेर बस्नेत जेठ ११ गते केटीको घर पुगेको देखिन्छ । तर केटीले प्रस्ताव अस्वीकार गरेपछि झगडा भएको पाइएको छ,’ दोलखा प्रहरीका प्र्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाप्रसाद पौडेलले भने, ‘बस्नेत मदिरा सेवन गरेर पुगेका थिए । झगडा परेपछि केटी र उनको परिवारका सदस्यले बस्नेतको घाँटी थिचेको र त्यही बेला उनको मृत्यु भएको देखियो ।’

 

रातको समयमा घरमा कोही नभएका बेलामा बस्नेतले भागौं भनेर जबर्जस्ती गर्दा उनको घाँटी थिचेर हत्या गरेको ती किशोरीले प्रहरीलाई बयानसमेत दिएकी डीएसपी पौडेलले जनाकारी दिए । उनका अनुसार हत्यापछि बस्नेतको शव व्यवस्थापनमा नाबालक २ भाइबहिनीसहित आमाबुबा र छिमेकीसमेत संलग्न रहेको र जंगलमा लगेर काफलको रूखमा झुन्ड्याएको किशोरीले स्विकारेकी छन् ।

 

आत्महत्या देखाउन बस्नेतको शव घरभन्दा करिब ७० मिटर नजिकैको जंगलमा झुन्ड्याइएको अवस्थामा फेला पारिएको थियो । प्रहरी अनुसन्धानमा किशोरी कक्षा ९ मा अध्ययन गर्ने बेलादेखि नै बस्नेतसँग नजिकिएको पाइएको छ ।

 

गएको स्थानीय तह निर्वाचनमा उनी म्यादी प्रहरीका रूपमा समेत खटिएकी थिइन् । ‘गाउँमा आफूहरूबीचको सम्बन्धको चर्चा हुन थालेपछि किशोरी बस्नेतबाट टाढिन खोजेकी थिइन्,’ डीएसपी पौडेलले भने, ‘तर बस्नेतले उनलाई जबर्जस्ती भगाउन भन्दै घर नै धाउन थालेपछि किशोरीले उनको हत्या गरेको देखिन्छ ।’

 

 

 



सम्बन्धित
Loading...