कावासोतीको नगरसभा असार १० गते, १ अर्ब ५ करोडको बजेट आउने

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको नगर सभा असार १० गते हुने भएको छ । आर्थिक बर्ष २०७९/८० का लागि बजेट विनियोजन, नीति तथा कार्यक्रम पारित लगायतका लागि नगर सभा गरिन लागिएको हो ।
कावासोती नगरपालिकाको आगामी आर्थिक बर्षका लागि १ अर्ब ५ करोड बढीको बजेट ल्याउने तयारी नगरपालिकाले गरेको छ ।
यसैबीच कावासोती नगरपालिकाले मंगलबार नगरसभा गर्नु पूर्व सुझाव संकलन कार्यक्रम गरेको छ ।
कावासोती नगरपालिकाको आयोजनामा कावासोती नगरपालिकाको सभाहलमा सुझाव संकलन कार्यक्रम भएको हो ।
सुझाव संकलन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, राजनीतिक दलका प्रतिनिधिहरु, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसाल, उपप्रमुख फुलकुमारी थनेत, वडाध्यक्षहरु, कावासोती नगरपालिका भित्र रहेका सरोकारवालाहरु लगायतका सहभागिता रहेको थियो

सहभागीहरुले विकासे बजेटको नाममा भौतिक पूर्वाधार निर्माणलाई मात्र ध्यान नदिएर शिक्षा, स्वास्थ्य, रोजगारमूलक कार्यक्रममा पनि ध्यान दिन नगरपालिकालाई आग्रह गरेको थियो ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि अहिले सबै पालिकाका जनप्रतिनिधिहरुलाई आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने चटारो लागेको छ ।
