नवलपुरको अवरुद्ध सडक अझै खुलेन, खोलाले बगाएर एक जना वेपत्ता, परासीमा चट्याङ्ग लागेर एक जनाको निधन


 



रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको सडक अझै खुलेको छैन । नवलपुरमा सडक बुधबार विहान ६ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक अझै नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । उनका अनुसार अहिले पनि डाइभर्सन मर्मतको काम चलिरहेको छ । अवरुद्ध सडक रातिसम्म खुलाउने प्रयास भईरहेको छ ।




नवलपुरको ३ स्थानमा डाइभर्सन बगाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाएको हो ।

मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो ।

पूर्वपश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौता अनुसार यो असार मसान्तसम्म काम सकिसक्नु पर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकेको छ ।

उसले यो बर्षा नलाग्दै पुलपुलेसाको काम सकेर डाइभर्सनको काम सकिसक्ने बताए पनि अहिले पूर्वपश्चिम राजमार्गमा २ सय बढी स्थानमा डाइभर्सनहरुबाट सडक सञ्चालनमा रहेका छन् जसले गर्दा सामान्य पानीमा पनि पटक पटक डाइभर्सन बगाएर सडक अवरुद्ध भईसकेको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरुले निक्कै सास्ती खेप्नु परेको छ ।

धानको विउ पुराउन जाँदा खोलाले बगायो 

नवलपुर । पूर्वी नवलपरासीमा धानको विउ छोड्न बारीमा जाँदै गरेकी एक जना पुरुषलाई खोलाले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २ का ६८ बर्षीय केसबहाादुर चमाललाई खोलाले बगाएको हो ।

बुधबार दिउँसो धानको खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९, सिम्रेनी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

धान रोप्ने क्रममा चट्याङ्ग लागेर निधन

 

परासी । पश्चिम नवलपरासीमा धान रोप्ने क्रममा चट्याङ्ग लागेर एक जना महिलाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका १० लक्ष्मी पुरामा खेतमा धान रोपिरहेको अवस्थामा चट्याङ्ग लागेर स्थानीय ६० बर्षीया महिला मराक्षी चौधरीको निधन भएको हो ।

चट्याङ्ग लागेर अचानक बेहोस भएकी ति महिलाको उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...