स्वतन्त्र उम्मेदवारहरुले पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने
स्वतन्त्र उम्मेदवारले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् ।
दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताए ।
दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उनको भनाई छ ।
देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका थिए ।
