सामूहिक बलात्कारमा परेकी बालिकाको झुण्डिएको अवस्थामा शव भेटियो

सामूहिक बलात्कारको शिकार बनेकी एक बालिकाको झुण्डिएको अवस्थामा शव भेटिएको छ।
सिराहाको मिर्चैया नगरपालिका–१ मलहनियाकी करिब १५ वर्षीया पवित्री सदाको शव मंंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो अभिभावकहरु घरमा नभएको अवस्थामा दुई युवकले फकाएर घर नजिकैको बारीमा लगेर बलात्कार गरेका साँझ बालिकाले रुँदै सुनाएकी थिइन्।
छिमेकीका अनुसार किशोरीले स्थानीय सतिश रजक र नाम नखुलेका अर्का युवकले बलात्कार गरेको सुनाएकी थिइन्। तर, मंगलबार बिहान उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको जानकारी दिएका छन्।
घटना शंकास्पद रहेकाले पोष्टमार्टमाको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिप्रसाद ओलीको भनाइ छ।
प्रहरी नायव उपरीक्षक ओलीका अनुसार प्रहरीले मृतक बालिकाको परिवार र छिमेकीहरुले दिएको सूचनाको आधारमा आरोपीतहरुको खोजीसहित घटनाको अनुसन्धान गरिरहेको छ।