नवलपुरमा अपराधिक घटना बढ्दो, एक बर्षमा ५५९ वटा घटना दर्ता




रामकुमार श्रेष्ठ –

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले गत आर्थिक बर्ष २०७८/०७९ मा कार्यालयले गरेको १ बर्षको गतिविधि र नवलपुर जिल्लामा भएको १ बर्षको अपराधिक गतिविधिहरु सार्वजनिक गरेको छ ।




आज जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी गतिविधि सार्वजनिक गरेको हो ।

कार्यक्रममा नवलपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्जवल महर्जनले घटना विवरणका बारेमा जानकारी गराएका थिए ।

विवरण अनुसार पछिल्लो ३ बर्षको तुलनामा प्रहरीमका घटना दर्ता बढेको पाइएको छ । आर्थिक बर्ष ०७६/०७७ मा ४७७ वटा घटना जिल्ला प्रहरी कार्यालय नवलपुरमा दर्ता भएकोमा ०७७/०७८ मा ५६० घटना दर्ता भएका छन् भने ०७८/०७९ मा ५५९ वटा घटना दर्ता भएको छ ।

त्यसैगरी आर्थिक बर्ष ०७८/०७९ मा कर्तव्य ज्यानका ७ वटा घटना, ज्यान मार्ने उद्योगमा १२ वटा घटना, भवितव्य ज्यानमा ५६ वटा घटना र फुटकर ज्यानमा ६५ वटा घटना दर्ता भएको प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए ।

त्यसैगरी आत्महत्या गर्नेको संख्या पनि यस बर्ष बढेको उनले बताए । नवलपुरमा आर्थिक बर्ष ०७६÷०७७ मा ९८ जनाले आत्महत्या गरेको पाइएकोमा ०७७÷०७८ मा ९९ जनाले र आर्थिक बर्ष ०७८÷०७९ मा १२५ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । जस मध्ये सबैभन्दा बढी झुण्डिएर ११६ जनाले, विष सेवन गरेर ७ जनाले र नदीमा हामफालेर २ जनाले आत्महत्या गरेका छन् ।

 

त्यसैगरी गत आर्थिक बर्षमा लागुऔषध सम्बन्धी ७० वटा मुद्दामा नवलपुरमा १ सय जना पक्राउ परेको प्रहरीले जनाएको छ । जुवातासमा ४४ वटा मुद्दा दर्ता भएको अर्थात ४४ वटा समूहलाई पक्राउ गरेको जनाइएको छ । ४४ वटा समूहलाई जुवातासमा नियन्त्रण गर्दा २६५ जना जुवाडे पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ ।

 

त्यसैगरी गत आर्थिक बर्षमा अभद्र व्यवहारमा ९१ वटा मुद्दा दर्ता भएको, जबरजस्ती करणीमा २३ वटा मुद्दा दर्ता भएको, जबरजस्ती करणी उद्योगमा ३ वटा मुद्दा, बौल यौनदुव्र्यवहारमा २ वटा मुद्दा नवलपुरमा दर्ता भएको छ ।

 

 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपुरमा घरेलु हिंसाका घटना पनि बढेको पाइएको छ । आज सर्वाजनिक गरिएको तथ्यांक अनुसार नवलपुरमा आर्थिक बर्ष ०७६÷०७७ मा ६९ वटा, आर्थिक बर्ष ०७७/०७८ मा १२८ वटा र आर्थिक बर्ष ०७८/०७९ मा १४३ वटा घटना दर्ता भएको प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष ०७८/०७९ मा ८९ जना पुरुष, १८६ जना महिला, १३ जना बालक, ७६ जना बालिका, ११ जना जेष्ठ नागरिक पुरुष र ४ जना जेष्ठ नागरिक महिला गरी ३ सय ७८ जना मानिस नवलपुरबाट हराएका छन् । हराएका मध्ये २९६ जना फेला परेको र ८२ जना अझै फेला नपरेको महर्जनले बताए ।

 

राजश्व संकलन

नवलपुर प्रहरीले गत आर्थिक बर्ष ०७८÷०७९ मा राजश्व संकलनमा पनि उल्लेख्य वृद्धि गरेको जनाएको छ । जस अन्तरगत सबैभन्दा बढी भन्सार छली नियन्त्रणबाट ५ करोड ३५ लाख ५१ हजार ४२१ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी नदीजन्य पदार्थ नियन्त्रणबाट ७९ लाख १८ हजार, काठ नियन्त्रणबाट ५ लाख ५ सय ६९ रुपैया, जुवातास नियन्त्रणबाट १९ लाख ५५ हजार ८ सय ३२ रुपैयाँ र फरार प्रतिवादी पक्राउबाट १ लाख ७८ हजार २ सय ६२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी नवलपुर प्रहरीले गत आर्थिक बर्षमा ५ थान भरुवा बन्दुक, १ थान रिभल्बर, १८ थान सिशाको गोली, ५४ ग्राम बारुद, ४ राउण्ड गोली सहित ४ जनालाई पक्राउ गरेको, १ हजार ८ सय ७२ लिटर घरेलु मदिरा नष्ट गरेको, २२ वटा हराएका मोटरसाइकल, ५ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सम्बन्धित मानिसलाई बुझाएको प्रहरीले जनाएको छ ।

 

 

ट्राफिक प्रहरीद्वारा २ करोड राजश्व संकलन

कार्यक्रममा दिइएको जानकारी अनुसार गत आर्थिक बर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गरेर सवारी साधन चलाउनेलाई कारवाही गरे वापत २ करोड बढी राजश्व संकलन गरेको जनाएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा ३१ हजार १ सय ९२ वटा सवारी साधन कारवाही गरी २ करोड ११ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो ।

 

 



सम्बन्धित
Loading...