वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने




मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ।

 

महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।

 




आइतबार सम्पन्न तीनदिने बैठकको निर्णय सार्वजनिक गर्दै वैद्यले निर्णयको दृढ कार्यान्वयनका लागि विभिन्न कार्यक्रम गर्ने बताए।

 

निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढंगले प्रस्तुत हुने देखिएको क्रान्तिकारी माओवादीको ठहर छ।

 

‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने, साधन–स्रोतहरूको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरूको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रूपमा त्रसित, आतंकित एवं भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको’ वैद्यले जारी गरेको विज्ञप्तिमा छ ।

 

राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको वास्तविक समाधान गर्न नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।



सम्बन्धित
Loading...