नवलपुर १ः संघीय र प्रदेश निर्वाचनमा उमेदवार बन्ने आकांक्षी अत्यधिक
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा स्थानीय निर्वाचनमा ठूलो झड्का बेहोरेको नेपाली काँग्रेसलाई नवलपुरमा आफ्नो पडक कायम राख्न अबको संघीय र प्रदेशको निर्वाचन चुनौती पूर्ण छ तथापि नवलपुरमा अब हुने निर्वाचनमा नेपाली काँग्रेसबाट नवलपुरमा उमेदवारका आकांक्षीहरु भने अत्यधिक देखिएको छ ।
नवलपुरमा त्यसो त संघीय निर्वाचनमा नवलपुरबाट डा. शशांक कोइराला, उद्योगपति विनोद चौधरी र व्यापारी एवम् उद्योगी विष्णु कार्कीको नाम बढी चर्चामा छ । तथापि विहीबार नवलपुर १ मा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरुको आकांक्षीको नाम पार्टीले माग्दा सोचे भन्दा बढी नामावली आएको छ । काँग्रेस नवलपुर १ ले भदौ १८ गतेसम्म आकांक्षीहरुलाई दावी पेश गर्न भनिएको छ । नवलपुर २ मा भने अझै प्रक्रिया शुरु नभएको नेपाली काँग्रेस नवलपुरले जनाएको छ ।
सरकारले यही मंसीर ४ गते प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्ने घोषणा गरेको छ । अघिल्लो निर्वाचनमा नवलपुर १ को प्रतिनिधि सभामा काँग्रेस नेपाल डा. शशांक कोइराला र प्रदेश सभातर्फ नवलपुर १ ख मा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले काँग्रेसबाट जित हात पारेका थिए ।
नवलपुर १ क मा भने काँग्रेसले हार बेहोरेको थियो ।
नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन
मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि नवलपुरमा काँग्रेसबाट उम्मेदवार बन्न ३ जनाले दावी पेश गरेका छन् । तथापि ३ पटक नवलपुर १ बाट निर्वाचित नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाको आधिकारी दावी सहितको आवेदन आउन अझै बाँकी छ । कोइराला निकट स्रोतका अनुसार शनिबार जिल्ला आउने कार्यक्रम रहेको हुँदा सोही समयमा आवेदन दर्ता हुने बताइएको छ ।
बिहिबार नवलपुर निर्वाचन क्षेत्र नं. १ का लागि उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो ।
आवेदनका लागि भदौ १८ सम्मको मिति रहेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताए ।
क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठका अनुसार पहिलो दिन प्रत्यक्ष तर्फ काँग्रेस नेताहरु ओमकला गौतम, महेन्द्रभक्त अधिकारी र गणेश सापकोटाको उम्मेद्वारीका लागि आवेदन परेको छ । गौतम अहिले प्रदेश सभा सदस्य छिन् ।
यस्तै समानुपातिक उम्मेद्वारका लागि ५ जनाको उम्मेद्वारी परेको छ । काँग्रेस नेताहरु हेमराज कोइराला, धनबहादुर मास्के राना, मैना कामी, भानु सिग्देल, विना कुमारी थनेतको आवेदन परेको छ । काँग्रेस नेतृ मैना कामीले भने प्रदेश र संघ दुबै तर्फ समानुपातिकमा उम्मेद्वारीका लागि आवेदन दिएकी छिन् ।
प्रदेश सभा सदस्यलाई नवलपुर १ (ख) मा १५ जना आंकाक्षी
नवलपुर निर्वाचन क्षेत्र नं. १ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) का सचिव वसन्त पोख्रेलका अनुसार प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १० जनाको उम्मेद्वारका लागि आकांक्षा सहित पार्टीमा निवेदन गरेका छन् ।
प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु ओमकला गौतम, बालकृष्ण घिमिरे, भोजेन्द्र रायमाझी, विष्णुदेवी पाण्डे र रामचन्द्र भट्टराई आरसीले उम्मेद्वार बन्नका लागि आवेदन दिएका छन् । गौतमले संघीय निर्वाचनका लागि नवलपुर १ बाट पनि प्रत्यक्षतर्फको उम्मेदवार बन्न आकांक्षी बनेके छिन् ।
समानुपातिक तर्फ राजेन्द्र पराजुली, सीता कुँवर, एक नारायण शर्मा अधिकारी, शान्ति तिवारी, अमृता सिग्देल, अमरसिंह बिक, लिला राना मास्के, लक्ष्मी बस्ताकोटी, यमकला बस्याल र अशोक बस्ताकोटीले आवेदन दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) विहीबार एकदिनको समय दिएर मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेको नाम माग गरेको थियो । नवलपुर १ (ख) सत्ता गठबन्धन भए माओवादी केन्द्रलाई दिने सम्भावना रहेको कारण पनि १ (ख) मा १ दिनको मात्र समय राखेर आकांक्षीहरुसँग आवेदन माग गरिएको काँग्रेस स्रोतले जनाएको छ ।
नवलपुर १ (क) मा काँग्रेसबाट २७ जना आंकाक्षी
नवलपुर निर्वाचन क्षेत्र नं. १ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट २७ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (क) का सचिव परमेश आचार्यका अनुसार पहिलो दिन प्रत्यक्ष तर्फ १२ जना र समानुपातिक तर्फ १५ जनाको उम्मेद्वारी परेको छ ।
प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु कमलप्रसाद पराजुली, लक्ष्मी अधिकारी, खगराज सापकोटा, तुलसीराम गौतम, गजेन्द्रबहादुर आले, गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, रविलाल सापकोटा, उदयराज अधिकारी, गोविन्दप्रसाद घिमिरे, होमराज रानाभाट, विष्णुकुमारी कंडेलले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।
समानुपातिक तर्फ अमृत श्रेष्ठ, जुना गौतम, शारदादेवी ढकाल, संगिता काफ्ले घिमिरे, चित्रध्वज जिशी, ललित बहादुर श्रेष्ठ, विरेन्द्र चौधरी, पुष्पराज पौडेल, शान्ति न्यौपाने, मुकुन्दप्रसाद पौडेल, अमृत भट्टचन, टोलनाथ घिमिरे, कमलादेवी पौडेल तिवारी, मैना कामी, शारदा विश्वकर्मा लगायतका काँग्रेस नेताले आवेदन दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (क) ले मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेको नाम माग गरेको थियो ।
सचिव परमेश आचार्यका अनुसार आवेदन दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेसम्मको समय रहेको छ । यस अघि प्रदेश १(क) का आंकाक्षीमा चर्चामा रहेका नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिशीको नाम भने पहिलो दिन दर्ता भएको छैन । भने यस अघिका विजेता गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीको पनि आवेदन परेको छैन ।
डा. शशांक कोइराला, कृष्ण चन्द्र नेपाली र महेन्द्रध्वज जिसीको शुक्रबार आवेदन पर्ने बुझिएको छ ।