नवलपरासीमा महिलामाथि सामुहिक बलात्कार, पक्राउ परेकालाई राजनीतिक दलको दबाबमा छाडियो




नवलपरासी । पश्चिम नवलपरासीमा एक जना महिलालाई सामुहिक बलात्कार गर्ने समूहलाई प्रहरीले राजनीतिक दलको दबाबमा छाडिदिएका छन् ।

पश्चिम नवलपरासीको प्रतापुर गाउंपालिकाकी एक जना महिलालाई घर कोही नभएको समयमा राति जबरजस्ती घर भित्र पसेर घरपछाडि लगेर बलात्कार गरेका थिए ।




पीडित महिलाका अनुसार राति पटक पटक फोन गरेर दुःख दिएको र पछि घर भित्रै पसेर ४ जनाको समूहले बारीमा लगेर बलात्कार गरेका थिए । महिलाले हारगुहार गरेर चिच्याए पछि गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए ।

बलात्कारमा सम्लग्न ४ जना मध्ये प्रतापपुर ६ का दुर्गेश गुप्ता फरार भएका थिए भने ईलाका प्रहरी कार्यालय बेलाटोरीले प्रतापपुर गाउपालिका ६ का रविन्द्र गुप्ता, सुजित गुप्ता र सुस्ता गाउँपालिका ५ का उस मोहम्मद मियाँलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ३ जनालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको दबाबमा छाडिएको पीडित महिलाका आफन्तले जनाएका छन् ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले भने पीडितले समयमै जाहेरी नल्याएको कारण तारेखमा छाडेको दावी गरे । उनले पीडित पक्षले कार्यालय समयमा पछि जाहेरी ल्याएको कारण जाहेरी नलिएको बताए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले घटना घटेको क्षेत्र इलाका प्रहरी कार्यालय बेलाटारीमै जाहेरी दर्ता गर्नु पर्ने भएकोले जिल्लाको निर्देशनमा बेलाटारीलाई जाहेरी लिन पठाएको बताए ।

पाण्डेयले महिलामाथि बलात्कार नभई बलात्कारको प्रयास भएको जाहेरीमा उल्लेख रहेको बताए । उनले भने – जाहेरी आएको छ दोषीलाई तत्काल नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइने छ ।



सम्बन्धित
Loading...