स्वतन्त्र उम्मेदवार नारायण काफ्लेको घोषणा पत्र सार्वजनिक, जमिन बाँझो नराख्नेदेखि युवालाई रोजगारका अवसर

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका एक मात्र स्वतन्त्र उमेदवार चोकनारायण काफ्ले (नारायण काफ्ले) ले शुक्रबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
शुक्रबार प्रगतिनगरको दलदले चोकमा कोण सभा गरी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । यहाँ नेकपा एमालेका रोशन गाहा, माओवादी केन्द्र लोकप्रसाद भुर्तेल लगायत ११ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
काफ्लेले आफ्नो घोषणा पत्रमा सेवा नै धर्म हो भन्दै आफू निर्वाचन भए गर्ने कामको उल्लेख गर्दै सार्वजनिक गरेको घोषणा पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सुकुम्बासी समस्या, खेलकुद, युवा व्यवस्थापन र रोजगार र विविध गरी ९ वटा शिर्षकमा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले कृषितर्फ कुनै पनि कृषि योग्य जमिन बाँझो नराख्ने, वैज्ञानिक कृषि प्रणाली लागू गरी मल, विउ विजन लगायतमा अनुदान, जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने, कृषि उपजको बजार व्यवस्थापन गर्ने, पहाडी क्षेत्रका उत्पादनलाई बजारसँग जोड्ने, सिचाईको व्यवस्थापन गर्ने लगायत रहेका छन् ।
त्यसैगरी सबै बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउने, शिक्षा निशुल्क गर्ने, सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद अन्त्य, स्वास्थ्य संस्थाको गुणस्तर तथा सेवा वृद्धि, यस क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्ने, नारायणीदेखि देवचुली र बरचुलीसम्म पदयात्रा तथा पर्यटकीय यात्राको रुपमा विकास गर्ने, यस क्षेत्रलाई सुटिङ्ग हवको रुपमा विकास गर्ने लगायतका प्रतिबद्धताहरु घोषणा पत्रमा सार्वजनिक गरेका छन् ।
त्यस्तै खेलकुद क्षेत्रमा निशुल्क प्रशिक्षण, प्रदेशदेखि वडा स्तरका खेलकुद मैदान र रंगशाला निर्माण, युवाको क्षमता र इच्छाशक्तिलाई पहिचान गरी प्रयोगमा ल्याउने, घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्ने, यस क्षेत्रमा साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गरी युवाहरुमा रोजगारीको अवसर सिर्जना गर्ने, कावासोती र देवचुलीबाट कालीगण्डकी कोरिडोर जोड्ने बाटो स्तर उन्नति गर्ने लगायतका प्रतिबद्धताहरु घोषणा पत्रमा रहेका छन् ।
काफ्ले यस अघि घरदैलो अभियान शुरु गरेको भए पनि शुक्रबारबाट भने कोण सभा सहितको प्रचार अभियान शुरु गरेका हुन् ।
होटल व्यवसायी काफ्ले विभिन्न सामाजिक क्षेत्रमा आवद्धताका साथै कलाकारको रुपमा पनि स्थापित भईसकेका छन् ।



